‘बैंकहरु नसच्चिए देशैभर आन्दोलन गर्न बाध्य हुन्छौँ ’


काठमाडौं । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलनमा उत्रिने भएका छन् ।

आइतबार सिन्धुपाल्चोकको सुकुटेभ्यालीमा आयोजित एक अन्र्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले बाध्यभएर बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजदर विरुद्ध आन्दोलन स्वरुप सडकमा उत्रिने अवस्था आएको बताएका छन् ।

बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

उनले भने ‘बैंकहरु नसच्चिए व्यवसायीहरु द्वन्द्वात्मक ढंगले प्रश्तुत हुन बाध्य हुनुपर्ने छ, बैंक बित्तीय संस्था र राष्ट्र बैंकले यसमा हेक्का नराखे देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने निश्चित छ त्यसैले व्यवसायीहरुलाई अहिले भइरहेका पीडाको सम्बोधन गर्न र यदि सम्बोधन नभए व्यवसायीहरु पनि प्रतिरक्षात्मक ढंगले सडकमै उत्रिने छौं ।’

उनले व्यवसायीहरुका मागहरु तत्काल सम्बोधन गरेर अर्थतन्त्रलाई सुधार गर्नुका साथै बैंक वित्तीय संस्थामा त्रुटीपूर्ण ढंगले भइरहेका गतिविधिहरुलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरुले आफूलाई अफ्ठ्यारो पर्दा व्यवहार मिलाउने गरेको आरोप लगाए ।

उनले भने ‘बैंकहरुले पहिला ऋणीहरुबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेको छन् राष्ट्र बैंकले बैंकहरुमाथि नथी लगाएमा बैंकहरु सीमाअनुसार चल्न बाध्य हुनेछन् त्यसैले ऋणीहरुलाई सम्झौताभन्दा बेगरको ब्याजदर असुलेर लिनेकुरा सह्य हुँदैन राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्छ ।’

अन्तरक्रियामा सहभागीहरुले देशमै केही गर्छु भनेर लाग्ने व्यवसायीहरुलाई व्यावसायमैत्री वातावरण सिर्जना गर्न सरकारले नसकेको आरोप लगाए ।