महिला उद्यमीका उत्पादन प्रर्बद्धन गर्न नबिल बैंकले स्टल उपलब्ध गराउने


काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी भएको छ । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए ।

समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ । एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ ।

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रिय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् । वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखेको नबिल बैंकले जनाएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउने भन्दै नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको सुरुवात गरेको थियो ।