चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबिच सेवा स्तरोन्नती एवं विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर

अब विशेषज्ञ सुविधासहितको सेवा उपलब्ध हुने


काठमाडौं । चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आज एक कार्यक्रमकाबिच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विस्तार गर्न दुईपक्षवीच सम्झौता भएको हो ।

नवलपरासी (पश्चिम) जिल्लामा सुविधासम्पन्न अस्पताल नहुदा यहाँका वासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

सामान्य विरामी हुदा समेत यहाँका वासिन्दालाइ उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था छ ।

यो अवस्थाको अन्त्यका लागि चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रुपमा विकास गर्न पहल लिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए ।

चुनावी प्रतिवद्धता अनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न लागिएको हो । चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

फाउण्डेसन र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपतकालीन र अन्य सेवाहरू सुनिश्चित गरिनेछ ।

सात वटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्, जसबाट विरामीहरुले स्थानीय तहमै भरपर्दाे स्वास्थ्य सेवा पाउनेछन् ।

अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गरिन् र २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ ।

यसैगरि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ ।

अस्पताललाई रेफरल अस्पतालका रुपमा विकास गर्नको लागि वित्तीय योजना तयार गर्ने पनि सझदारी भएको छ । अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ ।

अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिका, जनप्रतिनिधि, फाउण्डेसनका प्रतिनिधि, अस्पताल प्रशासन सबैको प्रतिनिधित्व रहने गरी समिति गठन हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि प्रतिक्रिया दिदै सांसद चौधरीले चिसापानी अस्पतालको विशेषज्ञसहितको सेवा प्रवाहले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,“निर्वाचनका बेला हामीले यो अस्पताललाई विशेषज्ञसहितको सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थियौं । अब त्यसले साकार रुप लिन लागेको छ । आगामी दिनमा यस अस्पतालको सेवालाई थप विशिष्टिकृत बनाउँदै लैजान म निरन्तर लागि नै रहनेछु ।”

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (सुप) पवन अग्रहरीले विनोद चौधरी सांसद निर्वाचित भएपछि विकासका कामहरु अगाडि बढेको बताए ।

उनले चौधरी बोल्नेभन्दा काम गर्ने नेता भएको बताए ।

“उहाँ (चौधरी) ले जिते लगत्तै आफ्नो टीम अस्पताल पठाउनुभयो । टीमले अस्पतालका समस्या औंल्याउनुभयो,” सम्झौता कार्यक्रममा उनले भने,“अस्पताल सुधारका लागि सहयोग गर्ने बाचा दिनुभयो र छोटो समयमै आज सम्झौता भएको छ । उहाँहरुसँगको सहयोगमा अस्पतालले फड्को मार्छ भन्नेमा म विशस्त छु ।”