४७ वर्षदेखि इन्दिराको उद्यम यात्रा


सतै फूलेको छोटो कपाल, ढल्किँदै गएको बुढ्यौली, धमिलिँदै गएको आँखामा पावरवाला चस्मा र हातमा एन्ड्रोइड मोवाइल । उमेरले ८६ टेक्यो तर लगनशीलता, मेहेनत र निरन्तरताले विश्राम लिएको छैन । बजिरहने ल्यान्डलाइन फोनमा ग्राहकसँग भलाकुसारी गर्ने उनको दैनिकी झण्डै दुई दशकदेखि निरन्तर छ । 

सुगन्धयुक्त थान कपडा, कैँची, सियो र धागोसँग साक्षात्कार भएको पाँच दशक पुग्न लाग्यो । राणा शासनदेखि पञ्चायत हुँदै संघीयतासम्मको अनुभव गरेकी उनलाई देशका गतिविधिबारे उत्तिकै चासो र चिन्ता छ । अक्षर पढ्न अहिलेसम्म कसैको साहयता नचाहिने उनको एउटै इच्छा छ, दुखःका दिनमा पारिवारिक संघर्षबाट १८ रुपैँयामा सुरु भएको व्यावसायले युगौँ युगसम्म निरन्तरता पाओस् । 

उनी हुन् उद्यमी इन्दिरा सापकोटा । वि.स. २०३२ माघ २० गतेबाट थान कपडाबाट तयारी पोशाक बनाउने व्यावसायको सुरुवात गरेकी इन्दिराले उनको व्यावसायलाई अहिलेसम्म निरन्तरता दिएकी छिन् । श्रीमान्को सरकारी जागिरले छोराछोरीलाई राम्रो शिक्षा दिनका लागि अपुग हुने देखिएपछि श्रीमान्सँग सल्लाह गरेर व्यावसायको सुरुवात गरेकी थिइन् । 

“श्रीमान्को तलब पाँच सय रुपैँया थियो । खान त पुग्थ्यो उनीहरूलाई राम्रो शिक्षा त दिनै पर्छ भनेर व्यावसाय सुरु गर्ने निधो गरेँ,” उनले विगत सम्झिँदै भनिन्, “बुहारीले यसरी नयाँ काम सुरु गर्न कहाँ पाइन्थ्यो र त्यसबेला, त्यसमाथि कपडा सिलाउने काम भनेपछि मान्छेले फरक नजरले हेर्थे ।” श्रीमान्को साथ पाएकै कारण कोठाभित्रबाट सिलाईको काम सुरु गरेको उनको भनाइ छ। 

भर्खर जन्मिएका शिशुदेखि सुत्केरी आमासम्मका लागि भोटो, चोलो बनाएर उनले व्यावसायको सुरुवात गरेकी थिइन् । निम्न मध्यमवर्गीय परिवारमा हुर्किएकी उनलाई काठमाडौँको असनबाट माइतीले सानै (१२वर्ष)मा बिवाह गरी दिएपछि उनले पढाइलाई निरन्तरता दिने योजना घरधन्दामै बिलय भयो । 

“उबेला पनि मेरा बा आमाले मलाई स्कुल पठाउनु भएको थियो ।” उनले भनिन् “वि.स. २००४ सालमा पद्मकन्या स्कुलको पहिलो ब्याजको विद्यार्थी हुँ, त्यसबेला पनि नौ कक्षासम्म पढेकी थिएँ ।” उमेरले ८६ पुगेकी उनी २०४२ सालमा श्रीमान्को स्वर्गवासपछि मैतीदेवी निवासमा एकल जीवन बिताइरहेकी छिन् । 

सरकारी स्तरबाट २०२२ सालमा पहिलोपटक बाँसबारी छाला जुत्ता कारखानाको स्थापना गर्दा उनका श्रीमान्ले सरकारी तवरबाट चिनियासँग वार्ता गरी उद्योग स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । श्रीमान्को देहान्तपछि आफैले सुरु गरेको व्यावसाय नै उनको साथी बन्यो । शोकलाई शक्तिमा बदल्न पुरै समय र मेहेनत यसैमा लगाइन् ।

 उनी बच्चादेखि वृद्घ उमेर समूहका लागि नयाँ नयाँ डिजाइनको काममा ४७ वर्षदेखि अनवरत छिन् । पसलमा अहिले सुत्केरी हुदाँ आमा र शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण कपडादेखि, गुनिउ, चोली, कटराइजको सुरवाल, उनको सुइटर, टोपी, मोजा लगायतका उत्पादन पाइन्छ । 

उनका पसलमा भएका अधिकांश कपडा उनले नै डिजाइन गरेकी हुन् । हरेक दिन बिहान ४ बजे उठेपछि भजन सुन्ने, योग, ध्यान गरेपछि एक कप कफी खाएर दिनको सुरुवात गर्छिन् । घाम लागेपछि घर नजिकै रहेकोे पसलमा पुग्छिन् । 

चलिरहेका काम, आएका अर्डरको जानकारी लिन्छिन् । आउने ग्राहकसँग भलाकुसारी गर्छिन् । उनको व्यावसायबाट अहिले १० जनाले प्रत्यक्ष रोगजारी पाएका छन् ।

राणाकालदेखि संघीयतासम्मको भोगाइ 

काठमाडौँ उपत्यकामा बालापन बिताएकी इन्दिराले राणा शासनदेखि संघीयता प्रणाली अनुभव गरेकी छिन् । महाबौद्घ र असनको गल्ली गल्लीमा खेलेर हुर्किएकी उनलाई साथीसँग टुँडीखेलमा राजाको जुत्ता हेर्न कुदेको अझै याद छ । 

विवाहपछि घरधन्दामा सीमित भएकी उनले परिस्थितिले व्यावसाय सुरु गरेकी थिइन् । २०३२ सालमा १८ रुपैँयाले सुरु भएको उनको उद्यमी यात्रा जारी छ । “१८ रुपैँया लगेर असन र महाबौद्घको होलसेल पसलबाट थान कपडा ल्याएर सुरु गरेकी हुँ ।” उनले भनिन् “नेपालमा उत्पादित थान कपडाबाट तयारी पोशाक बनाऊँ भनेर असन र महाबौद्घका सबैजसो गल्ली पुगैँ, भारतीय र चाइनिज कपडाको भर पर्नुपर्‍यो ।” 

बदलिँदो शासन प्रणालीसँगै उनको व्यावसायको प्रकृति पनि बदलिँदै गयो । थान कपडाबाट तयारी पोशाक बनाउने व्यावसाय चलिरहेसँगै कहिले उनी सुइटर बुन्न केन्द्रित भइन् भने कहिले अचार व्यावसायमा लागिन् । “२०४३ सालभन्दा अघिसम्म मेरो कारखानामा दिनको छ सय सुइटर बुनिन्थ्यो, विदेशबाट समेत थुप्रै व्यावसायीले सुइटर चाहियो भन्नुहुन्थ्यो ।” उनी थप्छिन्, “काठमाडौँमा नै पुर्याउन सकिँदैनथ्यो कहाँदेखि विदेश पठाउनु ? २०५८ सालपछि भने कामदारको अभावले सुइटर कारखानाले निरन्तरता पाउन सकेन् ।” 

४५ वर्ष चलाएर अहिले पसलको दैनिक कारोबारको जिम्मा उनले आफ्नै पसलमा काम गर्ने कर्मचारीलाई सुम्पिएकी छिन् । उनले भनिन् “दिनभरिको बिक्री र अर्डर बेलुका मकहाँ आएर सबै हिसाब बुझाउनुहुन्छ, मेरा शरीरले साथ नदिएर उहाँहरूलाई जिम्मेवारी दिएको मात्र हो, बाँकी म्यानेजमेन्ट म आफै हेर्छु ।” 

डाक्टरदेखि उपभोक्ताको सल्लाह

उनको व्यावसायबाट उत्पादन हुने पोशाक खासगरी सुत्केरी आमा र नवजात शिशुमा केन्द्रित छ । कुनै पनि डिजाइन बनाउनभन्दा पहिला उनी ग्राहकसँग सल्लाह लिनले गरेको बताइन् । “मसँग धेरै कपडा बनाएर राख्ने पुँजी छैन्, आउने ग्राहकसँग प्रतिक्रिया लिएर मात्र बनाउँछु ।” 

उनी भन्छिन् “मैले जसका लागि कपडा बनाउने हो उनीहरूसँग नै सल्लाह गरेपछि त्यो उत्पादन खेर जाने भएन नि । यसका अलवा प्रसुति विशेषज्ञ र थरी थरीका डाक्टर पनि डिजाइनका लागि सल्लाह गर्न आउँछन् ।” कसरी आमा र बच्चालाई सहज हुने डिजाइन बनाउन सकिन्छ भनेर भलाकुसारी गर्ने उनले बताइन् । 

उनी भन्छिन् केही समयअघि मात्र टिचिङका डाक्टरहरू छलफलका लागि आएको उनले बताइन् । जेष्ठ नागरिक र सुत्केरी आमालाई छातीमा चिसो पस्न नदिनका लागि कस्तो कपडा बनाउन सकिन्छ भनेर छलफल गरेको उनले बताइन् । 

२०३२ सालदेखि उद्यमी यात्रा

इन्दिराले २०३२ सालदेखी सुरु गरेको उद्यमी यात्रालाई अहिलेसम्म पनि निरन्तरता दिएकी छिन् । उनी ४७ वर्षदेखि कपडाको सुगन्ध र कैँचीको धारसँग रमाइरहेकी छिन् । करिब पाँच दशकको उद्यमी यात्रामा उनले विभिन्न आरोह र अवरोहको सामना गर्नुपर्‍यो । जनयुद्घ कालमा माओवादीबाट विभिन्न यातना भोग्नुपर्‍यो । 

“मेरो त तपस्या हो अहिले बिजनेसमा जस्तो नाफा कमाउन छाडिसके, नवजात शिशु भगवान हुन्, सुत्केरी आमा र नवजात शिशुलाई कसरी स्वस्थ्य राख्न सकिन्छ ? त्यही मेरो तपस्या हो ।”

कपडा सिलाउने व्यावसायमा लागेपछि नातेदार र परिवारका सदस्य टाढिँदै गए । हक्की स्वभावकी इन्दिरा परिश्रममा विश्वास गर्छिन्, श्रीमतीहरू घरको काममा मात्र अड्किन नहुने उनको बुझाइ छ । आपूmले गर्न सक्ने काममा अरूको साहरा नलिने बानीले उनलाई एक्लो महसुस हुँदैन् । “मलाई अहिले पनि मेरा आफन्तले एक्लै बस्ने भनेर गाली गर्छन् ।” ज्यानले साथ दिँदासम्म कपडामा कैँची, सियो चलाइरहने उनको योजना छ । २५० कामदार राखेर सुइटर बन्ने फ्याक्ट्री चलाएको अनुभव उनीसँग छ । 

उद्यमी यात्रामा डिपार्टमेन्ट स्टोरदेखि अचार उद्योगसम्म खोलिन् । अचार उद्योग एकदम राम्रो फस्टाएको थियो, हायात होटलदेखि काठमाडौँका धेरै होटल उनका ग्राहक थिए । श्रीमान्को देहावसानपछि भने उनलाई व्यावसाय एक्लै सम्हाल्न गाह्रो भयो । 

२०५८ सालपछि भने तयारी पोशाक बनाउने बाहेकका अरू व्यावसायले निरन्तरता पाउन सकेनन् । अहिले उनका ग्राहक पनि पुस्तान्तरण भइसकेका छन् । “तपाइंले बनाएको भोटो लगाएर हुर्किएको रे भन्दै उहाँहरू नाति नातिनाको लागि भोटो किन्न मकहाँ आउनुहुन्छ” उनले भनिन् । कोरोना अघिसम्म विभिन्न कारागार पुगेर कैदीबन्दीलाई सिलाई बुनाईका तालिमहरू पनि दिने गरेको उनले बताइन् ।

 व्यवस्था मात्र बदलियो

राणा शासन अनुभव गरेर हुर्किएकी उनलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि जनताको अवस्था नफेरिएको देख्दा नेतृत्वप्रति वितृष्णा छ । अहिलेजस्तो जनता चुस्ने प्रवृत्ति राणाकालमा पनि नभएको उनको बुझाइ छ । २०१५ सालयता जनताको अवस्था परिवर्तका लागि हरेक चुनावमा भोट हालेकी छिन् तर निराशाको खाडल भने गहिरिँदै गएको उनी बताउँछिन् । 

परिवर्तन गर्ने हुटहुटीले सांसदमा उम्मेदवारी दिएकी उनी पराजयपछि राजनीतिमा उनको पाइला अघि बढेन । “जनताले दुख पाए भनेर राजा फालेको हो, अहिले हेर्नुस त पहुँच नभएका जनताको के अवस्था छ ?” सरकार त नागरिकको अभिभावक बन्नुपर्ने, सत्ताका पुग्न भएको फोहोरी खेलले हरेक सरकारले व्यावसायीलाई सम्वोधन गर्ने नीति नल्याउँदा घरेलु तथा साना उद्यमीमाथि उठ्न निकै संघर्ष गर्नुपर्ने उनको अनुभव छ । 

“शरीरभन्दा मन र मस्तिष्क थाकेपछि मान्छे कमजोर हुने रहेछ, मैले मन र मस्तिष्कलाई थाक्न नदिएकै कारण अहिले पनि एक्लै पकाउँछु, खान्छु ।” उनले थपिन “मेरो आहारा म आफै जोहो गर्छु, सक्ने काम सबै आफै गर्छु ।” 

(टक्सार म्यागजिन, माघ अंक २०७९)