चेक बाउन्सबाट आजित उद्योगी-व्यापारी


काठमाडौं । पछिल्लो समय चेक बाउन्सको समस्या बढ्दै गएपछि उद्योगी–व्यवसायी आजित भएका छन् । अर्थतन्त्रमा नजानिँदो तबरले मन्दी देखिएसँगै भुक्तानी पाउन नसक्ने, उधारोबापत भुक्तानीका लागि दिइने चेक थुप्रिन थालेको हो ।

“मसँग जम्मा भएका चेक यदि जोख्ने हो भने एक किलोजति पुग्छ होला । चेक बाउन्स गराइ कालोसूचीमा राख्ने झन्झटिलो प्रक्रियाले सबै चेक बाउन्समा पनि लान सकिएको छैन,” एक जुत्ता उद्यमी भन्छन्, “हाम्रो व्यापार भनेको विश्वासमा चलेको हुन्छ । उधारोको चक्र चल्दै आएको पनि हो । अहिले त एक वर्षयताको चेकमात्रै सयौं भइसकेको छ ।”

उद्योगबाट आधिकारीक विक्रेता, अथवा आयात गरेर आधिकारिक विक्रेताले सामान खुद्रा व्यापारीले सामान खरिद गरेर सर्वसाधारणलाई बिक्री गर्ने गरेका छन् । त्यही व्यापारको चक्र उद्यारोमा चल्ने गरेको छ । उपभोक्ताले पनि उद्यारोमा सामान खरिद गरेर महिनौंसम्म पनि भुक्तानी हुन नसक्दा समस्या देखापरेको अर्का व्यवसायीले बताउँछन् ।

व्यापारको उद्यारो चक्रले समस्या परेर पैसा उठाउन नसक्दा व्यापारीहरू कारोबारका लागि नगद अभाव भइ समस्यामा पर्दै गएका हुन् । उद्यारो लिने पनि समस्यामा पर्दै गएको कर्जाको ब्याजदर पनि पछिल्लो समय बढ्दै गएको छ ।

बैंकमा तरलताको समस्यासँगै ब्याजदरको वृद्धि पनि भइरहेकैको छ । उद्योगी व्यापारी क्रमबद्धरुपमा बैंक ब्याजदर विरुद्ध आन्दोलन पनि गर्दैै आइरहेका छन् । बैंकबाट ऋण लिन सकिने अवस्था पनि नभएको भएको चेक पनि साटिने अवस्था नरहेको व्यापारीहरूले गुनासो गर्ने गरेका छन् ।

२०७९/८० मा माघ २४ गतेसम्म चेक बाउन्स भएर कालोसूचीमा पर्नेको संख्या ३१ हजार २५० रहेका छन् । चेक बाउन्स भएर कालोसूचीमा पर्ने २३ हजार ५८० व्यक्ति रहेका छन् भने ७ हजार ६७० संस्था रहेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

उद्योगी व्यापारीका अनुसार सामान खरिद गर्नेले महिना दिन पछिको मितिमा चेक साट्न मिल्ने गरी दिने गरेका छन् । तर त्यो चेक पनि समयमा नसाटिने ती व्यवसायीले गुनासो गरे । उनले भने, “सामान खरिद गरेर लैजानेले महिना दिन पछिको मिति चेक दिने गरेका छन् तर त्यो चेक भनेको समयमा साटिँदैन । व्यवसायमा धेरै समस्या आइसकेको छ । अब के गर्ने ? कसरी चल्ने समस्या भएको छ ।”

अहिले उद्योगी व्यापारीहरूले आफू असुरक्षित रहेको बताउने गरेका छन् । बैंकबाट ऋण लिएर उद्योग व्यवसाय गर्ने गरेकोमा बजारबाट उधारो उठ्न नसक्दा ब्याज तिर्न नसकेका कारण कुन दिन कालोसूचीमा पर्ने चिन्ता रहेको बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ चेक बाउन्स हुने समस्या बढेको स्वीकार गर्दै त्यसको लागि कालोसूचीमा राख्ने भन्दा मिलेर जानुपर्ने बताउँछन् ।

“चेकको कारोबारलाई सुरक्षित गराउने विषय उठिरहेको छ तर निकास हुन बाँकी छ । तु्रुन्तै कालोसूचीमा राख्नुभन्दा मेलमिलाप केन्द्रबाट यसलाई सल्टाउनको लागि खोजिरहेको छौं,” उनले भने,“व्यवसायी संस्थाले मुद्धा लिएर पनि हिँडन सक्दैन । दुवै पक्ष उद्योगी–व्यापारी नै हुन् । बाउन्स चेकको बारेमा कानुनीरुपमा होइन, निर्देशन मिलाउने काम भइरहेका छन् ।”

चेक कालोसूचीमा राख्ने उजुरी दिने क्रममा पनि समस्या रहेको व्यवसायीहरू बताउँछन् । कतिपयले पछिल्लो समय आफ्नो खातामा मौज्दात रकम नभएको चेक जानीजानी काटीदिने गरेका छन् । बैंकबाट धेरै पाना चेक लिने र एकै प्रकृतिबाट धेरैलाई रकम नै नभएको चेक भिडाइ ठग्ने नियतले नै काम गरेको उनको आरोप छ ।

कालोसूचीमा राख्नको लागि सूचना दिँदा बैंकहरुले झन्झट सिर्जना गर्ने गरेको ती व्यवसायीको गुनासो छ ।

“एकै जनाले धेरै जनालाई समान किसिमको पछि भुक्तानी मिति तोकेर हामीलाई चेक दिन्छन् तर साटिँदैन । बैंकहरुलाई यो खाताको व्यक्तिलाई कालोसूचीमा राख्नको लागि भन्यो भने २ हजार लाग्छ भन्ने गरेका छन्,” नाम उल्लेख गर्न नचाहने ती व्यवसायी भन्छन्, “उसको खातामा पैसा छ भने त्यसबाट काट्छ नभए मैले तिर्नुपर्छ । उसको खातामा पैसा नभएर चेक साटिएको हुँदैन । उसको खाताबाट कसरी काटिन्छ ? एउटामात्र भए तिर्नु हो त्यो त धेरै छ कसरी तिर्नु ।”

बैंकहरुले पनि ग्राहक अनुसार कालोसूचीमा राख्नको लागि भेदभाव गर्ने गरेको उनको आरोप छ । सँधै कारोबार गर्ने र धेरै कारोबार गर्ने आफ्ना सेवाग्राहीलाई चेक बाउन्सको आधारमा कालोसूचीमा नराख्ने गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरू पनि बैंकहरुले धेरै र सँधै जसो कारोबार गर्नेलाई कालोसूचीमा राख्न नमानेको भनेर उजुरी आउने गरेको स्वीकार गर्छन् । “बैंकहरुले पनि आफ्ना ग्राहक हेरेर कालोसूचीमा नराख्ने गरेको उजुरी आउने गरेको छ ।

जसले सँधै कारोबार गरिरहन्छन् धेरै कारोबार गरिरहन्छन् बैंकहरुले उनीहरुलाई कालोसूचीमा राख्दो रहेन रहेछ, ” बैंक नियमन विभागसम्बद्ध ती अधिकारी भन्छन्, “अहिले अनलाइनबाट यस्ता उजुरी बढेको छ । राष्ट्र बैंकले यस विषयमा छिट्टै निर्देशन जारी गदैछ ।”