दूधको मूल्य बढाउन उद्योगीले भेटे प्रधानमन्त्री, प्रतिलिटर १० रूपैयाँ बढ्न सक्ने


काठमाडौँ । डेरी उद्योगीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर दूधको मूल्यवृद्धि गर्न अनुरोध गरेका छन् । कृषि तथा पशुपन्छी विकास र अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री दाहालले छिटै मुल्यवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले उत्पादन लागत धान्नै गाह्रो भएकाले कृषक र उद्योगी दुबैको मर्म अनुरूप मूल्य वृद्धिको निर्णय गर्न अनुरोध गरेका हुन्।

यसअघि उद्योगीहरूले एकतर्फी रूपमा प्रतिलिटर १४ रूपैयाँ बढाउने निर्णय गरेकोमा सरकारको अनुरोधमा सो निर्णय फिर्ता लिएका थिए । कृषि मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डको नेतृत्वमा डेरी क्षेत्रका सरोकारवाला सम्मिलित अध्ययन समूह बनाएर तत्काललाई प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री दाहालले उद्योगी भेटेलगत्तै मुख्यसचिवलाई मूल्यवृद्धिको लागि प्रकृया अगाडि बढाउन निर्देशन दिएका छन् । डेरी उद्योगीहरूको माग प्रतिलिटर १० रुपैयाँ भन्दा बढी भएपनि वर्तमान समयको लागि १० रुपैयाँले बढाउन प्रधानमन्त्रीलाई प्रस्ताव गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

उनले भने, “आर्थिक संकटका कारण गाईवस्तुको दाना मूल्य बढ्दै गएको छ । त्यसकारण दूधको मूल्य बढाउने किसानहरूकै माग भएकाले बढाउन प्रस्ताव गरेका हौँ ।’’ नेपालमा दूधको न्यूनतम समर्थन मूल्य ५८ रुपैयाँ प्रतिलिटर रहेको छ । सरकारले प्रस्ताव पास गरेपछि दूधको न्यूनतम समर्थन मूल्य ६८ रुपैयाँ प्रतिलिटर पुग्नेछ ।