उडानको बेला टिकटक बनाउने हिमालय एयरलाइन्सका तीनजना क्याबिन क्रु निलम्बित


काठमाडौं । हिमालयन एयरलाइन्सका तीन जना क्याबिन क्रु निलम्बित भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रुलाई बर्खास्त गरेको हो ।

हिजो बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई बर्खास्त गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक बनाएका थिए।

उनीहरूलाई दोहामै ग्राउन्डेड गरिएको साथै तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुन सक्ने प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनीहरूले उडानभित्रको फोटोग्राफी र भिडियोग्राफीमा क्यानको मापदण्डको गम्भीर उल्लङ्घन गरेको आरोप निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।