आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँड समपन्न


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पनन्न भएको छ । कम्पनीले फागुन ११ गते, बिहीबारदेखि फागुन १५ गते, सोमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड आज, फागुन २८ गते आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटलको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३८ हजार ४ सय ६६ जना लगानीकर्ताहरूले कुल १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १५ लाख ३६ हजार २ सय ६३ जना लगानीकर्तालाई बाँडफाँडमा सहभागी गराइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो। गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १६ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेको क्यापिटलले जनाएको छ । सेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन् ।

संस्थाले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँड समेत भइसकेको छ । जारी पुँजीको ०।५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको जम्मा १ लाख ६९ हजार ७ सय ५५ कित्ता सेयर सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।