शोधान्तर बचत १३३ अर्ब २१ करोड रुपैयाँ पुग्यो


काठमाडौं । अघिल्लो वर्ष घाटामा रहेको शोधान्तर स्थिति यस वर्ष भने बचतमा रहेको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको तथ्यांकअनुसार माघ मसान्तसम्म शोधान्तर स्थिति रु. १३३ अर्ब २१ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई रु.५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो ।