पछिल्लो ७ महिनामा रु १५० अर्ब ६८ करोडको थप धितोपत्र सूचिकृत


काठमाडौं । पछिल्लो ७ महिनामा डेढ खर्ब रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको छ । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० को सात महिनामा कुल रु.१५० अर्ब ६८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
जसमध्ये रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२८ अर्ब ४४ करोड बराबरको डिबेन्चर, रु.६४ अर्ब ७५ करोड बराबरको साधारण शेयर, रु.१४ अर्ब ३२ करोड बराबरको बोनस सेयर, रु.४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.३ अर्ब ६७ करोड बराबरको हकप्रद सेयर सूचिकृत भएका छन् ।

त्यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ माघ मसान्तमा सूचीकृत ७ अर्ब ११ करोड शेयरको चुक्ता मूल्य रु.७०१ अर्ब ६१ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, रु.४ अर्ब ५८ करोड बराबरको साधारण शेयर र रु.९५ करोड बराबरको हकप्रद सेयर गरी कुल रु.२२ अर्ब ४८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०७९ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४६ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ६३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५.८ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १२.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।