‘सीमित जनशक्तिका कारण बजार अनुगमन प्रभावकारी हुन सकेन’


काठमाडौँ । सीमित जनशक्ति भएका कारण बजार अनुगमन प्रभावकारी हुन नसकेको काठमाडौं प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताएका छन् ।

विश्व उपभोक्त अधिकार दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले गरेको कार्यक्रममा उपाध्यायले उपभोक्ताको हित संविधानमा नै उल्लेख रहेको तर सीमित जनशक्ति भएका कारण बजार अनुगमन प्रभावकारी हुन नसकेको बताएका हुन् ।

उनले भने,”सीमित जनशक्ति प्राविधिक पनि सीमित भएको कारणले एकै चोटी अनुगमन गर्न सक्दैनौं । एक क्षेत्रबाट सुरु गर्न सकिन्छ । एउटा क्षेत्रमा अनुगमन गरेपछि अन्य क्षेत्रका सचेत हुन्छन् ।”

संयुक्त बजार अनुगमन गर्न विभिन्न संघ संस्था, निकायलाई सहजीकरण र समन्वय गर्न तयार रहेको उनले बताए । उनले देश संघीय संरचनामा गइसकेकोले नागरिकको नजिकको सरकारबाट अनुगमन सुरु गनुपर्ने उल्लेख गरे।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यले उपभोक्ताको हितको लागि बाहिरबाट आएको मात्र नभई नेपालमा उत्पादन भएको तरकारी तथा फलफूलको विषादी परिक्षण गर्नुपर्ने बताइन् ।

उनले भनिन्,”जहाँको उत्पादन भएपनि विषादी प्रयोग गरिएकाे उत्पादनले उपभोक्तालाई असर पार्छ । नेपालमा किसानलाई ज्ञानको कमी भएका कारण विषादीकाे प्रयोग बढी हुने गरेको छ ।”

उनले विषादी प्रयाेग गरिएकाे उन्नत जातको तरकारी तथा फलफूलको रोगसँग लड्ने क्षमता कम हुने भएकोले यसलाई कम गर्दै लगेपछि उपभोक्ताको हित हुने बताइन् ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होम नाथ भट्टराईले विश्वका सबै व्यक्तिहरु उपभोक्ता भएको बताए । उनले सरकारले उपभोक्ताको लागि हरेक क्षेत्रबाट काम गरिरहेको बताए ।

उनले भने,”उपभोक्ता आफैँले सचेतनाको बारेमा बुझ्नुपर्छ। त्यसको लागि गाउँ गाउँ गएर कार्यक्रम गर्नुपर्छ । उपभोक्ता आफैँ सचेत भएपछि समस्याको समाधान कम हुँदै जान्छ ।”

नेपाल गुणस्तर तथा नाप तौल विभागका उपमहानिर्देशक प्रभात कुमार सिंहले उपभोक्ताको हकहित गहन विषय भएको बताए । उनले उपभोक्ताले प्रतिक्रिया दिए झन् राम्रो काम गर्न सक्ने बताए ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारी सबै निकाय बिच समन्वयको अभाव रहेको बताए । उनले भने, “बजार नै व्यवस्थित छैन । बजार व्यवस्थित भएपछि उपभोक्ताको हित हुन्छ । बजार व्यवस्थापनको काम स्थानीय तहले गर्नुपर्ने तर स्थानीय पालिकाहरु अनुगमन गर्न नपरे हुने भन्ने भावना छ ।”

मञ्चका सल्लाहकार डा. डिल्लीराम शर्माले संविधानमा उपभोत्ताको हक हितको बारे व्यवस्था भएपनि उपभोक्ता समस्यामा परेको बताए । उपभोक्ता समस्यामा परेका कारण चनाखो बन्नुपर्ने उनले उल्लेख गरेका छन् ।

“खाद्य सुरक्षा सम्बन्धी कानुन राम्रो नभएका कारण उपभोक्ता मारमा परिरहेको र व्यापारीलाई फाइदा पुर्याइरहेको छ । यसले उपभोक्ता माथि गम्भिर खेलबाड भइरहेको छ,” उनले भने ।