एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण


काठमाडौं । म्याग्दीमा एनआईसी एसिया बैंकका कर्मचारी माथि सांघातिक आक्रमण भएको बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले जनाएको छ ।

म्याग्दी एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको हो ।

आक्रामणपछि बैंकका कर्मचारी गम्भिर घाइते भएको बैंक तथा वित्तीय संस्था परिसंघले जनाएको छ । सिबिफिनले बैंकका कर्मचारीमाथि नियोजितरुपमा सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएकोमा भत्र्सना गरेको छ ।

“निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं,”सिबिफिनले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने गतिविधि र आक्रमण गर्ने कार्यहरु दैनानुदिन बढिरहेकोप्रति सिबिफिनले ध्यानाकर्षण भएको जनाएको छ ।

जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला आज ज्यान लिने गरी घटाइएको सिबिफिनले उल्लेख गरेको छ ।

सिबिफिनले आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई मनन गरी बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा अपिल गरेको छ ।