नेप्सेमा भेला भएका लगानीकर्तामाथि प्रहरी हस्तक्षेप, तिलक कोइराला पक्राउ


काठमाडौं । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेपाल स्टक एक्चेन्ज (नेप्से) को भेला भएका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तिलक कोइराला,नयन बास्तोला, अर्जुन प्रसाद कोइराला सहितका लगानीकर्तालाई शुक्रबार नेप्से परिसरबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ । सरकारले पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नगरको भन्दै नेप्से घेर्न पुगेका थिए ।

कोइरालाले सामाजिक सञ्जाल मार्फत केही दिन अगाडी लगानीकर्तालाई नेप्सेमा भेला हुन अफिल गर्र्दै लेखेका थिए ‘पुँजीबजार विकासको बन्द भएको ढोका खोल्न आउने शुक्रबार बिहान १० बजे नेप्से जाऔँ’, कोइरालाले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका थिए, ‘कोही नछुटौँ, नत्र पछुताउनुपर्ला।’

पुँजीबजारको सुधार र विकासका लागि विभिन्न माग राख्दै कोइरालाले यस अघिपनि गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) आमरण अनशन बसेका थिए। असार १० गते सेबोन अध्यक्ष रमेशकुमार हमालले १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेपछि कोइरालाले अनशन तोडेका थिए।