अर्थतन्त्र सुधार गर्न सरकारले पूरक बजेट ल्याउनुपर्छः पूर्व गभर्नर नेपाल


पोखरा । हाल देखिएको अर्थतन्त्र संकटबाट मुलुकलाई माथि उठाउन सरकारले पूरक बजेट ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन् । आईतवार पोखरामा आयोजित लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रियामा बोल्दै उनले नीतिगत सुधारमा जोड दिएका हुन् । 

सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था यस्तो भएको नेपालको ठहर छ । ‘‘मैले धेरैपटक नियामक र नीतिगत तहमा भएकाहरु सिरियस भएको जस्तो देखिँदैन्, अझै सरकार सुधार गर्न सचेत छैन्,‘‘ उनले भने । मौद्रिक नीति राम्रो नभएसम्म सुधार हुन नसक्ने उनको भनाइ छ । 

सबैले चाहेमा अर्थतन्त्र मात्र नभई देश नै सुधार हुनसक्ने बताउदै उनले त्यसको लागि संकल्पका साथ अगाडि आउनुपर्नेमा ‘‘व्यापार व्यवसाय उत्थानका सप्लिमेन्ट बजेट ल्याएर राहत दिनुपर्छ, अहिले बैंकमा अधिक ब्याज हुँदा रकम लिन नचाहेको हुँदा यसमा ध्यान दिनुपर्नेछ,‘‘ नेपालले भने, ‘‘अहिले पैसा बाहिर बाहिर नै छ । त्यसलाई च्यानलमा ल्याउन पनि सप्लिमेन्ट्रि बजेट ल्याउनुको विकल्प छैन्। यो सत्य हो।‘‘ 

नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्न समेत कठिन भएको बताए। ‘‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं। अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो,‘‘ श्रेष्ठले भने।

अर्थतन्त्र धरासायी भएको र बजार पिडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने श्रेष्ठको माग छ । ‘‘बेस रेट तोकिसकेपछि फेरी बैंकहरुले प्रिमियम ब्याज तोकेर थप किन लिने? ब्याजदर १०प्रतिशत भन्दा धेरै गर्न हुँदैन र साना तथा मझौला व्यवसायीहरुका लागि अझ ब्याज घटाउनुपर्दछ, ‘‘ उनले भने।

श्रेष्ठले उद्योगी व्यवसायीहरुको हरेक समस्यासँग जुधेर आफू अगाडि बढिरहेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका थिए। 

कार्यक्रममा बोल्दै उद्योगी किशोर श्रेष्ठले अहिले उद्यमीहरुको मन रोएको र कसरी उद्योग व्यवसाय चलाउने भनेर रुने अवस्थामा भएको बताए। उनले व्यवसायीहरुलाई आगामी २ वर्षसम्म बैंक ऋण र ब्याज तिर्न सहजता र सहुलियत दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टि नेपालका सांसद मनिष झाले देश तदर्थवादमा अल्झिएको हुँदा समस्या आएको बताए। उनले आफ्नो पार्टि सरकारमा हुँदा र आाफू स्वयं उद्यम क्षेत्रमा रहेको अनुभवले पनि अझ संकटतर्फ उन्मुख भएको बताए।

‘‘हामीकहाँ विश्लेषक धेरै तर विज्ञ कम भए र राजनीतिमा पनि त्यस्तै भएकोछ। हामीले तदर्थवादलाई नहटाएसम्म समस्या घट्दैन्। हामीसँग योजनाहरु धेरैछन तर रणनीतिहरु केहि छैन्,‘‘ सांसद झाले भने। उनले देशमा सँधै राजनीतिक योजनाहरु बन्ने गरेको तर अर्थतन्त्रका लागि कुनै योजनाहरु नबनेकोमा दुख व्यक्त गरे । 

कार्यक्रममा पोखरा अनुसन्धान केन्द्रका सुजन रेग्मीले पूँजीगत खर्च नबढाएसम्म अर्थतन्त्र सुधार नहुने बताए। उनले पूँजीगत खर्च बढाउँदै सरकारले अर्थतन्त्र वृद्धि गर्न सुधारका कदम चाल्नुपर्ने बताए। ‘‘गण्डकी प्रदेशमा कृषि र पर्यटनको ठूलो संभावना छ। कृषिलाई पर्यटनसँग जोडेर अभियान चलाउन सकिएमा प्रदेशको आर्थिक वृद्धिमा सकारात्मक सुधार हुनेछ। ‘‘ उनले भने । 

रेग्मीले यसबाहेक प्रदेशमा जलविद्युत र पूर्वाधारमा समेत संभावना भएको भन्दै यसको लागि नीतिगत स्थीरता आवश्यक हुनेमा जोड दिए।