होटल व्यावसायिका समस्या सामाधानको पहल नभए व्यवसाय बन्द गर्ने होटल संघ नेपालको चेतावनी


काठमाडौँ । होटल संघ नेपालले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।

होटल संघ नेपालले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको हो ।

ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारले पहल नगरेर होटल बन्द गर्ने चेतावनी दिएको हो ।

हानले सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा समेत समस्याको सामाधानको लागि पहल नगरे व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

हानका प्रथम उपाध्यक्ष विनायक साहले बैंक तथा वित्तीय संस्थाहरूबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको बताए ।

उनले सरकारका नीति निर्माताहरू,सम्वद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक,बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक,ज्ञापनपत्र, सुनुवाई लगायतका प्रयासहरूबाट हालसम्म कुनै वाञ्छित नतिजा नआएको बताए ।

उनले पछिल्लो समय चालु खर्च समेत धान्न नसक्ने गरी होटलहरू घाटामा सञ्चालित रहेको बताए ।

उनले राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु खेदजनक रहेको बताए ।

उनले होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्युबाट बचाई पुनर्जीवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना,पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको तथा बढ्दै गएको व्याजदर एकल अंकमा झार्न माग गरे ।

पछिल्लो समय होटलको अकुपेन्सी २५ प्रतिशत मात्रै रहेको उनको भनाई थियो । संघका अध्यक्ष सिर्जना राणाले सरकारले बनाउने नीति नियमले होटल क्षेत्रलाई उपेक्षा गरेको बताइन् ।

उनले सरकारले कोरोना महामारीको कारण थला परेको होटल क्षेत्रमैत्री नीति नबनाउँदा होटल व्यवसाय घाटामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताइन् ।

नेपालको पर्यटन क्षेत्र ५० प्रतिशत मात्रै लयमा आएकाले पर्यटक क्षेत्रको विकासमा चुनौती रहेको उनको भनाई थियो ।