सात महिनामा दोब्बरले बढ्यो खराब कर्जा


काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार खराब कर्जा २०७९ माघमा २.६३ प्रतिशत रहेको जनाएको छ । २०७९ असारमा खराब कर्जा १.३१ प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकहरुको खराब कर्जा २.४९ प्रतिशत, विकास बैंकहरुको खराब कर्जा २.८२ प्रतिशत र वित्त कम्पनीहरुको खराब कर्जा ७.८२ प्रतिशत रहेको छ । २०७९ असारमा वाणिज्य बैंकहरुको खराब कर्जा १.२० प्रतिशत, विकास बैंकहरुको खराब कर्जा १.३६ प्रतिशत र वित्त कम्पनीहरुको खराब कर्जा ६.२३ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंक तथा विकास बैंकहरुको खराब कर्जा दोब्बरले बढेको छ । अर्थतन्त्रमा समस्या देखिएसँगै उद्योगी व्यापारीहरुले ऋण तिर्न सकेका छैनन् । उद्योगी व्यापारीहरु ब्याजदर एकल बिन्दुमा झार्नको आन्दोलन गर्दै आइरहेका थिए । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग छलफल पछि उद्योगी व्यावसायीहरुले आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् ।

उद्योग पूर्णरुपमा सञ्चालन नभएको र कामदारलाई तलबभत्ता दिन नसकिरहेको बताउने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले पनि कर्जा प्रवाह गरेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाको ऋण घाटा प्रावधान (लोन लस प्रोभिजन) अन्र्तगत १ खर्ब ४३ अर्ब ६६ करोड २० लाख रुपैँया दायित्व रहेको छ । गत असारमा १ खर्ब १० अर्ब ३० करोड रुपैँया रहेको थियो भने २०७८ असार मसान्तमा ८९ अर्ब ५९ करोड ४० लाख रुपैँया थियो ।

२०७९ माघ महिनासम्म ऋण घाटा प्रावधान अन्र्तगत वाणिज्य बैंकहरुको १ खर्ब २४ अर्ब २३ करोड ९० लाख रुपैँया दायित्व रहेको छ भने विकास बैंकहरुको १३ अर्ब ७ करोड ५० लाख रुपैँया रहेको राष्ट्र बैंकले जनाएको छ । वित्त कम्पनीहरुले ६ अर्ब ३४ करोड ७० लाख रुपैँया राखेका छन् ।