सरकारको बढ्दो बाह्य ऋण, डलर उतारचढावका कारण दायित्व बढ्यो


काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा कुल सरकारी ऋण २० खर्ब ७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ रहेको छ भने आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा कुल बक्यौता ०.२७ प्रतिशतले घटेको छ । सपन कार्यालयका अनुसार यो अवधिमा आन्तरिक ऋण ३.०२ प्रतिशतले घटेको छ भने बाह्य ऋण २.३७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा आन्तरिक ऋण २९.८३ अर्ब रुपैयाँले घटेको छ भने वैदेशिक ऋण २४.३८ अर्ब रुपैयाँले बढेको छ ।

सरकारलाई विनिमय दरको उतारचढावका कारण ५.५२ अर्ब रुपैयाँ घाटा भएको छ । डलरमा आएको उतारचढावका कारण बाह्य ऋण तिर्दा नेपाललाई घाटा भएको जनाइएको छ । पछिल्लो समय डलरमा उतारचढाव बढ्दो छ भने नेपालले डलरमा ऋण लिँदा सरकारलाई दायित्व बढेको हो ।

कुल गार्हस्थ्य उत्पादनमा सरकारको कुल कर्जा अनुपात ४१.३८ प्रतिशत पुगेको छ जसमध्ये आन्तरिक ऋणको हिस्सा १९.७३ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा २१.६४ प्रतिशत छ । २०७९ असारमा कुल गार्हस्थ उत्पादनमा सरकारको कुल कर्जा अनुपात ४१.४९ प्रतिशत थियो । जसमध्ये बाह्य ऋणको २१.१४ प्रतिशत थियो भने आन्तरिक ऋणमा २०.३५ प्रतिशत अनुपात थियो ।

असारको तुलनामा कुल गार्हस्थ उत्पादनमा आन्तरिक ऋणको अनुपात बढेको छ भने बाह्य ऋणको अनुपात घटेको छ । सरकारले आर्थिक वर्ष २०७९ ८० को बजेटमा बाह्य वैदेशिक ऋण २ खर्ब ४२ अर्ब २६ करोड ११ लाख रुपैयाँ लिने उल्लेख गरेको थियो भने वैदेशिक अनुदान वापत ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ पाउने अनुमान गरिएको थियो ।

अर्थमन्त्रालयका अनुसार २०७९ साउनदेखि चैतसम्म १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बाह्य ऋण तथा अनुदान प्रतिबद्धता गरिएको छ । जस अनुसार ऋण बापत १ खर्ब १४ अर्ब रुपैयाँ प्रतिबद्धा आएको छ भने अनुदान बापत २४ अर्ब ५६ करोड १० लाख रुपैयाँ प्रतिबद्धता गरिएको छ ।