‘पुँजिगत खर्च वृद्धि गर्न नसके अर्थतन्त्र चलायमान हुन सक्दैन’


काठमाडाैँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् ।

बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा मन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्न नसके, पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाएपनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरे ।

उनले अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै व्यापार घाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले ऋणको ब्याजदर अहिले धेरै नै बढेको भएपनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कुटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई मुलुकबीच एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले आत्मनिर्भर र स्वावलम्वी अर्थतन्त्रको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन्। नेपालले इटलीमा वार्षिक १ अर्ब १४ करोडको सामान निर्यात गर्ने गरेको र इटालीसँग नेपालको व्यापार घाटा २ अर्ब ९६ करोड रुपैयाँ रहेको बताए ।