काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रुपमा सहभागि हुने जनाएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ फिल्म फेस्टिबलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह समेत आयोजना गरिने बताइन् ।
काठमाडौँको संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ ।
पुराना कलाकारहको सम्मान तथा उनीहरुको सिर्जनात्मक कलालाई नयाँ पुस्तामा रुपान्तरण गर्नु समेत फिल्म फेस्टिबलको उद्देश्य रहेको उनले बताइन् ।
उनले अभिनेत्री शबाना आजमीले १४ कात्तिक मा नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवाद कार्यक्रमा सहभागि हुने उल्लेख गरिन् ।
जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रश्तुति दिने कार्यक्रम रहेको समेत उनले जानकारी दिइन् ।
चलचित्र महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा हुने उनले जानकारी दिनुइन्। उनले कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’को प्रदर्शन गरिने बताइन् ।
फेस्टिभलमा ‘नेपाल पानोरामा सट्र्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् ।
महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रूपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै नेपालसहित विभिन्न देशका चलचित्रहरु प्रदर्शनमा राखिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्