‘बैंक तथा वित्तीय संस्था अपाङ्गतामैत्री भएनन्’


काठमाडौं । नेत्रहीन महिला संघ नेपालले बैंक तथा वित्तीय संस्था अपाङ्गतामैत्री नभएको जनाएको छ ।

नेत्रहीन महिला संघ नेपालले गरेको अपाङ्गता भएका महिलाहरुको आर्थिक अधिकार प्रवर्धन वित्तीय न्याय र समावेशीकरणका लागि सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा संघकी अध्यक्ष सीता सुवेदीले नेपालले राष्ट्र बैंकको नीतिले अपाङ्गतामैत्री हुनुपर्ने भने पनि त्यसो हुन नसकेको बताएकी छन् ।

नेपालले राष्ट्र बैंकले स्थानीय तहमा ५ काउन्टरमध्ये १ काउन्टर अपाङ्गतामैत्री बनाउनुपर्ने जनाएको छ तर त्यसो हुन नसकेको उनले उल्लेख गरिन् ।

उनले भनिन्,“राष्ट्र बैंकले ५ काउन्टरमध्ये एक काउन्टर अपाङ्गतामैत्री बनाउनुपर्ने व्यवस्था गरेको छ । तर स्थानीय तहको स्पष्ट परिभाषा नभएका कारण वित्तीय संस्थाको प्रयोग गर्नबाट बञ्चित छन् । त्यसलाई सम्बन्धित निकायले चाँडै सुधार गर्नुपर्छ ।”

आर्थिक आत्मनिर्भरताको अभावले दृष्टिविहीन महिला तथा बालिकाले नीतिगत आर्थिक व्यवस्था भएपनि त्यसको व्यवस्थित कार्यान्वयन नहुँदा आर्थिक अधिकारसँग जोडिएका सामाजिक विभेदको अप्रिय अनुभव गर्न बाध्य रहेको संघले जनाएको छ ।

नीतिगत विभेद र मौनताले गर्दा रोजगारजस्ता आर्थिक अवसर, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक न्यायमा हुने पक्षपात सामान्य भएको जसले गर्दा समुदायमा समृद्ध, सुरक्षित, स्वतन्त्र र सम्मानजनक जीवनको आनन्द लिनबाट बञ्चित गरेको उनले बताइन् ।

बैंक तथा वित्तीय संस्थामा अपाङ्गता भएका व्यक्तिहरु जाँदा कर्मचारीले सहयोग नगर्ने प्रवृति रहेको बताएका थिए ।