सीडी रेसियो लागू नगरेको भए बैंकहरू टाट पल्टिसक्थे: गर्भनर अधिकारी


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) लागू नगरेको भए बैंक टाट पल्टिसक्ने बताएका छन् ।

मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले गरेको देशको वर्तमान आर्थिक अवस्थाको बारे छलफल कार्यक्रममा गर्भनर अधिकारीले नेपालमा सीडी रेसिया लागू नभएको भए अमेरिकामा भन्दा पनि पहिला नेपालका बैंक संकटमा पर्ने बताएका हुन् ।

उनले भने,“सीडी रेसियो लागू गरेर समस्या पर्यो भन्छन् । सीडी रेसियो लागू नगरेको भए नेपालका बैंकहरु अमेरिकाको बैंकभन्दा पहिले टाट पल्टिसक्थे । हामी नै अगाडी हुन्थ्यौं ।”

उनले राष्ट्र बैंकको नियमन कडा भएका कारण आफुले धेरै गाली खाने गरेको गुनासो गरे । उनले भने,“ राष्ट्र बैंकको नियमन फितलो छैन धेरै कडा छ । कडा भएको कारण नै फ्लोरमा धेरै गाली खानेमा म पर्छु होला । मैले जति गाली कसैले खाएको छैन ।”

गर्भनर अधिकारीले लघुवित्तहरुले आफ्नै मूल्य मान्यता अनुसार जीवनस्तर उकास्न सहयोग गरिरहेको बताएका छन् । उनले नेपालको विपन्न परिवकारको जीवनस्तर उकास्नको लागि लघुवित्तको राम्रो भुमिका खेलिरहेको र लघुवित्तका कारण जीवनस्तर उकासिएको उदाहरण भएको बताए । विपन्न परिवारको जीवनस्तर उकास्नको लागि लघुवित्तहरुले आफ्नै मूल्य मान्यता अनुसार काम गरिरहेको बताएका छन् ।

उनले जुन समयमा जे ठिक छ त्यहि गर्दै आएको हो राष्ट्र बैंकले कहीँ कतै पनि गलत नगरेको उल्लेख गरे । गर्भनर अधिकारीले भने,“लघुवित्तमा लगानी गर्न निजी क्षेत्र तयार नभएपछि राष्ट्र बैंक र सरकार भएर स्थापना गरेको हो । पछि राष्ट्र बैंकले लघुवित्तको लाइसेन्स लिने संख्या धेरै भयो । अहिले हामीले लघुवित्त मर्जर तथा प्राप्तिको नीति ल्याएका छौं । जुन समयमा जे ठिक हुन्छ त्यहि गर्ने हो ।”

उनले बैंक तथा वित्तीय संस्थाले गाउँगाउँमा गएर ऋण दिन नसक्ने अवस्थामा लघुवित्त स्थापना भएको बताएका हुन् ।

कार्यक्रममा अर्थविद् डा. अच्युत वाग्लेले राजस्वले चालू खर्च धान्न सक्ने अवस्था नरहेको बताए । उनले यो अवस्था ४० वर्ष पछि पहिलो पटक भएको बताएका छन् । उनले नीतिगत सुधारको आवश्यकता रहेको औंल्याएका छन् ।

सामान आयात गर्दा अण्डर इन्भोइसिङ हुने कारण त्यसलाई छाता संगठनले रोक्न पहल गर्नुपर्ने बताए । उनले भने,“सामान आयात गर्दा १०० रुपैयाँको सामान ३० देखाएर ल्याउने गरिएको छ । त्यसलाई निजी क्षेत्रका छाता संगठनले पहल गरे भने रोक्न सकिन्छ । त्यसको जिम्मेवारी निजी क्षेत्रको छाता संगठनले लिनुपर्छ ।”

अर्थविद् डा. गोविन्दराज पोख्रेलले उद्यमीको संख्या बढ्नुपर्नेमा भत्ता खान निर्वाचित भएर आउनेको संख्या ३६ हजार १०७ रहेको बताए । उनले भने,“नेपालमा उद्यमीको ३६ हजार १०७ हुनुपर्ने हो । नेपालमा नेपालमा त्यस्तो छैन । निर्वाचित भएर आउने भत्ता खानेको संख्या त्यति रहेको छ । उद्यमी बढाउनुपर्नेमा निर्वाचित प्रतिनिधि बढिरहेका छन् ।”

उनले चालू खर्च गर्न पनि ऋण लिनुपर्ने अवस्था आएका कारण फजुल खर्च हुने आयोगहरु खारेज गर्नुपर्ने सुझाव दिएका छन् । पोख्रेलले माननीय, सम्माननीय र महामहिम भन्ने विधेयक तुरुन्तै आउने तर नीतिगत सुधार गर्ने नीति वर्षौसम्म नआउने उनले बताएका छन् ।