अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म पुर्‍याउन सहयोग गरौँः अध्यक्ष मगर


राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायको पहुँचमा पुर्‍याउन स्थानीय तहले भुमिका खेल्नुपर्ने बताएका छन् । 

बिहीवार ‘अपाङ्ता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय दिलाउनका लागि स्थानीय तहहरुले भुमिका खेल्नुपर्ने बताएका हुन् । उनले पीडितहरुले कानूनी सहायता खोज्दापनि उनीहरुलाई हतोत्साही बनाउने प्रवृत्ति देखिएको भन्दै त्यस्तो प्रवृत्ति हटाउनुपर्ने बताए ।

उनले कानूनी प्रक्रियामा गएपछि न्याय पाइन्छ भनेर पीडितहरुलाई विश्वास दिलाउनुपर्ने र कानूनी प्रक्रियामा जान उत्साहीत बनाउनुपर्ने बताए । उनले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा भएका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक तथा अर्धन्यायिक निकायमा जानका लागि सल्लाह, सुझाव दिनुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायबाट विमुख गराउनु नहुने उनकाे भनाइ थियाे । 

“उहाँहरुलाई हतोत्साहि होइन, उत्साही बनाउनु पुर्‍याे। न्याय पाउन सही बाटो यो हो भनेर कसरी उहाँलाई सुझाव दिने ? यसमा स्थानीय निकाय अलि सजग भयो भने, स्थानीय निकायहरुले कुन माध्यमबाट हुन्छ, आफ्नो क्षेत्रमा अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ, उहाँलाई न्यायको पहुँचको लागि सही सुझाव दिएर न्याय दिलाउने व्यक्तिहरुले सही सल्लाह, सुझाव दिएर न्यायिक निकाय, अर्धन्यायिक निकायमा पु¥याउने सल्लाह, सुझाव दिनुपुर्‍याे,” उनले भने, “न्यायको लागि अवरोध सिर्जना गरेर न्याय बाट विमुख बनाइदिनु भयो भने उहाँलाई असर परिराखेको हुन्छ । त्यो हुनु भएन । समाज र स्थानीय निकायले उहाँलाई उत्साहित बनाएर जानुपर्ने कुराहरु छ ।”

उनले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म जानका लागि घर परिवार भित्रैबाट पनि असहयोग भएको भन्दै त्यसो नगर्न आग्रह गरे ।