विश्व रेकर्डका लागि पूर्वगोर्खा सैनिक हरि बुढामगर सागरमाथा आरोहण गर्दै, सोलुखुम्बु प्रस्थान



काठमाडौँ । पूर्व गोरखा सैनिक हरि बुढा मगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् ।

बुधवार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । (प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्न लगेका हुन् ।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए । सफल आरोहणपश्चात बुढामगर सगरमाथाको चुचुरोमा चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्ति बन्नेछन् ।

उनले भने ,“५ वर्षको धेरै बाधा अड्चनपछि फाइनल्ली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुशी छु, म मात्रै होइन, म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ । हिमाल चढ्न चाहनेलाई हिमाल चढाउनुछ । मेरो आरोहण २ महिनाको हुनेछ ।”

बुढा मगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) लगायतका आरोहण गरिसकेका छन् । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’(घोडा माथिबाट दुवै अंगविच्छेदन) को रेकर्डलगायत रेकर्ड बुढामगरको नाममा छ ।

सगरमाथा आरोहणको तयारीका लागि विश्वभरका विभिन्न सानाठुला हिमाल आरोहण गरिसकेका उनले सगरमाथा आरोहण गर्दै विश्व रेकर्ड कायम गर्ने र अबको जीवन नेपालमा अपाङ्गता साक्षरता र नेपालको आर्थिक विकासको एजेण्डा बोकेर बिताउने लक्ष्य रहेको बताएका छन् ।

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुशी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशी दिने विश्वास व्यक्त गरे ।

उनले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्ना लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने बताए ।

बुढामगरले मेरा पिक (६,४७६ मिटर) आरोहण गरेर सन् २०१७ मा नै मेरा पिक आरोहण गरेर ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बनेका थिए । बुढामगर रोल्पाको मिरूल गाउँमा सन १९७९ मा जन्मनुभएको हो ।

बुढामगर भन्छन्, “लडाइमा दुबै खु्ट्टा गुमाएपछि दुइ वर्ष त मानसिक तनावमै बिताएँ । परिवार र साथीहरूको प्रेरणाले कमजोर भएर बस्नु हुन्न भन्ने मनोबल बढ्यो र विस्तारै तंङ्ग्रीदै गएँ र खेल र साहसिक खेलमा हात हालें, त्यसले आत्मबल दियो । धेरै समय खेल र साहसिक खेलमा बिताएपछि, यदि समय र परिस्थितिसँग अंकमाल /परिवर्तन गर्न सकियो भने असम्भव केही रहेनछ भन्ने थाहा पाएँ ।”

उनले आफ्नो युवा अवस्था बेलायत सरकारको नाममा सपर्पण गरे पनि अब नेपालका लागि केही गर्न चाहेको बताए । उनले भने,“बेलायत सरकारले पनि मलाइ धेरै कुरा दियो । अब मलाइ जन्माएर, हुर्काएर, पठाएर बेलायतको लाहुरे बनाउने नेपाल आमाको लागि केही गरौं भनेर अबको जीवन नेपाललाई समर्पित गर्ने योजनामा छु । यही योजनाको प्रमुख कडी सगरमाथा आरोहण हो । यो कार्यका लागि विश्वभरबाट योगदान गर्ने सबैमा हार्दिक नमन भन्न चाहन्छु ।’’

पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजनामा रहेका बुढामगरलाई कानुन बाधक बनेको थियो । पर्वतारोहण सम्बन्धी नियमावली,२०५९ को ३ को उपनियम २ (ग) मा उल्लेखित ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ ले सगरमाथा आरोहण गर्न नपाउने व्यवस्थाले सगरमाथा आरोहण गर्न रोकेको थियो ।

नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्था अनुरूप अदालतले मार्गप्रशस्त गरेपछि तिब्र तयारीपश्चात सगरमाथा आरोहणको समय तय भएको हो ।

उनी गोर्खा वेलफेयर ट्रस्टको सद्भावना राजदूतसमेत हुन् । सन १९६९ मा स्थापित ट्रस्टले गोर्खा भेट्रान,उनीहरूका परिवार र नेपालमा रहेका समुदायलाई शिक्षा,स्वास्थ्य, खानेपानीलगायत महत्वपूर्ण क्षेत्रहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ ।

जन्मथलो मिरुल, रोल्पा जिल्ला र साविक राप्ती अञ्चल केन्द्रित कार्यक्रममा व्यक्तिगत रूपमै सञ्चालन गर्दै आएका उनी नेपालको ठूलो व्यावसायिक समूहमा पर्ने गोरखा ग्रुपसँग पनि आबद्ध छन् ।