आजदेखि भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव सुरु


भक्तपुर । ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ आजदेखि सुरु भएको छ ।

नयाँ बर्ष नयाँ सोच युवाहरुका लागि छ प्रगतिको स्रोत भन्ने मूल नाराका साथ चैत्र २३ गतेदेखि वैशाख ३ गतेसम्म ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ ।

विगत ९ वर्षदेखि औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्ड र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा प्रत्येक वर्ष सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिदै आएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्वस आयोजना गरिएको महतले बताए । “घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरेको उनले जानकारी दिए ।

महोत्सवमा २०० भन्दा बढी स्टलहरु राखिएको छ । जसमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, पर्यटन प्रद्वधन स्टल, मोबाइल, सवारी साधनलगायतका स्टल रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

महोत्सव करिब पाँच लाखले अवलोकन गर्ने अपेक्षा रहेको अध्यक्ष महले बताए । उनका अनुसार १० करोडदेखि रु १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।

एघार दिनसम्म चल्ने महोत्सवमा हरेक दिन विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ । बालबालिका तथा युवालाई लक्षित गरी मनोरञ्जनका स्टलहरु समेत राखिएको छ ।