कर्जा धितोको अनुपात बढाउन नेपाल जग्गा तथा आवास विकास महासंघको माग


काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले एकल अंकमा ब्याजदर कायम गर्न र सकेसम्म ब्याजलाई पुँजीकृत गनुपर्नेमा जोड दिएको छ ।

महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर जग्गाको मुल्य र कर्जा धितोको अनुपात बढाउनुपर्ने माग समेत गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले अहिले काठमाडौँ उपत्यकामा ३० र काठमाडौँ उपत्यका बाहिर ४० प्रतिशत कर्जा अनुपात भएको उल्लेख गरे ।

उनले भने,“यो बढाउन आवश्यक छ । धितो अनुपात घटाउने होइन, यस क्षेत्रमा केही समस्या भए प्रणालीगत सुधार गरेर जान सकिन्छ । नियमन र व्यवस्थापन गरे हामी तयार छौँ तर धितो अनुपात घटाउने होइन बढाउनुपर्छ ।”

भू-उपयोग कानुनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउनुपर्ने विषय सरकार समक्ष माग गरे । उनले सरकारबाट लाइसेन्स प्राप्त ब्रोकरहरू मार्फत मात्रै घरजग्गा खरिदबिक्री गर्ने कानुनी व्यवस्था गर्ने विषयमा गम्भीर बन्न अध्यक्ष लोहनीले सरकारलाई आग्रह गरे ।

उनले भने,“ हामीले लामो समयदेखि वकालत गर्दै आएको विषय हो रियल इस्टेट व्यावसायीहरूलाई पनि लाइसेन्सको व्यवस्था गर भनी आफैँलाई नियमन गर्न अनुरोध गरेका छौँ । सरकारबाट लाइसेन्स लिएका व्यावसायीहरूले मात्रै देशभर घरजग्गाको विकास,बिक्रीलगायत काम गर्न पाउनुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।”

महासंघले जग्गा एवं सामूहिक प्रयोगको क्षेत्रको स्वामित्व हस्तान्तरणको विषय पनि समस्याको रुपमा रहँदै आएको जनाएको छ । विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्ने विषयमा पनि महासंघले ध्यानकर्षण गराएको छ ।

महासंघले भनेको छ,“सरकारले आफ्नो वार्षिक बजेटमार्फत यो विषयलाई सम्बोधन गरेको भए पनि आवश्यक कानुनी सहजिकरण नगर्दा यो विषय कार्यान्वयन हुन सकेको छैन ।” विदेशी मुद्रा सञ्चितिमा यो व्यवस्थाले ठुलो भूमिका निर्वाह गर्न सक्ने भए पनि यसको कार्यान्वयन नहुँदा हामी घरजग्गा व्यावसायी दुखित छौँ ।”

महासंघले व्यस्थित बसोबास तथा सहजीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिने विषय र ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै ठुलाठुला सहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहमति गराउन पनि माग गरेको छ ।

महासंघका सचिव रामसुन्दर बके घरजग्गालाई अनुत्पादक क्षेत्र भनेर गलत प्रचार गरिएको गुनासो गरे ।

उनले घरजग्गा क्षेत्र चलायमान नहुँदा समग्र क्षेत्रमा मन्दी देखिएको भन्दै सरकारले बिचार गर्नुपर्ने बताए । उनले भने,“ आज घरजग्गा व्यवसाय चलायमान नहुँदा सबैतिर मन्दीजस्तो छ । यो क्षेत्रमा कडाइ गर्नु गलत हो ।”