साखः ग्रुपद्वारा कम्पोष्ट मलको व्यावसायिक उत्पादन सुरु


काठमाडाैँ । साख : ग्रुपले कम्पोष्ट मलको व्यावसायिक उत्पादन सुरु गरेको छ । ४ दशकदेखि फलामे डण्डी, नन फिस मेटल हस्पिटालिटी, पेन्ट्स,मनोरञ्जन क्षेत्रमा क्रियाशील साख : ग्रुपले मल उत्पादन सुरु गरेको हो ।

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साखः ग्रुपका किरण प्रकाश साख :ले भने,“ क्लाइमेट कन्ट्रोल प्रविधिबाट विभिन्न किसिमको च्याउको उत्पादन पछि दोश्रो कृषि परियोजनाका रुपमा कम्पोष्ट मलको व्यवसायिक उत्पादन सुरु गरेको सहर्ष जानकारी गराउन चाहन्छु । जापानी सीएबीएम प्रविधिबाट उत्पादित कम्पोष्ट मल उत्पादन गरेर बजारमा ल्याएका छौं ।”

साखः ग्रुपको दुधौली नगरपालिका स्थित रिकिशी दाइची कम्पोष्ट फर्टिलाईजर एण्ड एग्रो प्रा. लि. ले रिकिशि कम्पोष्ट प्रा.लि. को सहकार्यमा रिकिशि ब्राण्ड कम्पोष्ट मल बजारमा ल्याएको साखःले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले आफूहरूले उत्पादन गरेको कम्पोष्ट मल रासायिनक मलको उपयुक्त विकल्प बनेको दाबी गरे ।

उनले भने,“रासायनिक मलको कारणले माटोको उर्वराशक्ति ह्रास भइरहेको सर्वविदितै छ । माटोको उर्वराशक्ति जोगाउदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न तथा नेपालीको स्वास्थमा पनि सुधार गर्न कम्पोष्ट मल उपर्युक्त विकल्पको रुपमा रहेको छ । जापानी प्रविधि भए पनि नेपालकै स्रोत साधनको उपयोग गरेर मल तयार गरिन्छ ।”

उनले मलखाद बनाउन पालिकाहरूसँगको सहकार्यमा काम गरिने जानकारी दिए । जापानको प्रविधिलाई जापनिज प्राविधिकको प्रत्यक्ष रेखदेखमा पाँच वर्षदेखि नेपालमा यसको अध्यन अनुसन्धान पछि मात्र व्यावसायिक उत्पादन

गरिएको साख : ले जानकारी दिए । उनले भने,“यो मलको प्रयोगले रासायनिक मलबाट प्राप्त हुने उत्पादन सरह नै उत्पादन हुने व्यहोरा जानकारी गराउन चाहन्छु । त्यसैले नेपालमा रिकिशी कम्पोष्टले कृषि क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने निश्कर्षसहित व्यवसायिक उत्पादन बजारमा ल्याएका छौं ।”

कम्पोष्ट मल एक प्राकृतिक र जैविक मल भएको र पातहरू, घाँसको कोपहरु, घरायसी फोहोर, रातो माटो, भुस, घुटी जस्ता जैविक सामाग्रीबाट तयार गरिएको साखःको भनाई छ ।

उनले भने,“यस प्रकारको मल रासायनिक मल भन्दा बढी दिगो मात्र नभई यसले माटोको स्वास्थ र उरभरा शक्ति सुधार गर्न पनि मद्दत गर्दछ । तसर्थ नेपाल सरकारले कम्पोष्ट मल प्रयोग गर्नमा जोड दिनु पर्नेमा दुई मत हुन सक्दैन ।”

कम्पोष्ट मल रासायनिक मल भन्दा धेरै सस्तो भएको र किसानलाई सर्भसुलभ ढङ्गले उपलब्ध हुने साखःको दाबी थियो ।
उनले भने,“सरकारले दिने अनुदानको ठूलो धन राशि पनि बचत पनि हुनेछ । सरकारबाट वर्षेनी रासायनिक मलमा उपलब्ध गराउने अनुदानको केही अंश मात्र उपलब्ध गराउने हो भने किसानलाई यो मल सित्तैमा उपलब्ध गराउन सकिने अवस्था सिर्जना हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।”

देशभर माग भएको खण्डमा विभिन्न जिल्लाका निजी क्षेत्र तथा नगरपलिकाहरूसंग सहकार्य गरी उत्पादन गरी वितरण गर्ने समेत लक्ष्य लिएको कम्पनीको भनाई छ ।