नेपाल टेलिकमको नयाँ वर्ष अफर, ४९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डाटा


काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने जनाएको छ ।

कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने भएको हो ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने उल्लेख गरेको छ ।

त्यसैगरी, कम्पनीका अनुसार एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुने जनाएको छ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर भोलि (२०७९ चैत ३०) देखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुने जनाइएको छ ।