धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग्यो


काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ। बिहीबार आज एक सूचना जारी गर्दै बोर्डले १० दिनको समय दिँदै आवेदन दिन आव्हान गरेको छ ।

यसअघि ४५ दिनको समयसीमा राखेर बोर्डले स्टक एक्सचेन्ज र कमोडिटि एक्सचेन्जका लागि आवेदन माग गरेको थियो तर सो विरुद्ध सर्वोच्चमा मुद्धा परेपछि प्रकृया स्थगित गरिएको थियो। नयाँ ब्रोकर लाइसेन्सका लागि भने यसअघि नै ४६ वटा कम्पनीहरुले आवेदन दिईसकेका छन्।

बोर्डले गत असोज २ गते एक सूचनामार्फत धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिस एवम् वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न बोर्डको पूर्व स्वीकृतिका लागि आवेदन माग्दै ४५ दिनको समय दिएको थियो ।

तर यो प्रक्रियाविरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले कात्तिक ४ गते अल्पकालीन आदेशबाट सबै प्रक्रिया यथास्थितिमा राख्न भनेको थियो । त्यसपछि रोकिएको लाइसेन्स वितरणको यो प्रक्रिया सर्वोच्च अदालतले चैत २६ गते रिट खारेज गरेसँगै धितोपत्र बोर्डले पुनः सुरु गरेको हो ।