वर्षको अन्तिम कारोबारः २९ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । हिजो ९२ अंकको उछाल आएको सेयरबजारको उत्साह एक दिन पनि टिक्न सकेन ।

बैंकहरुले निक्षेपको व्याजदर एकल अंकमा झारेसँगै बजार सकरात्मक बन्ने अपेक्षा गरेका लगानीकर्ता नयाँ वर्षको पूर्वसन्ध्यामा भने निश्चिन्त बन्न सकेनन् ।

वर्षको अन्तिम दिन २९ अंकले नेप्से परिसूचक घट्दा कारोबार रकम पनि खासै बढ्न सकेन । आज कारोबारको सुरुवाती समयदेखि नै निकै उचारचढाव आएको बजार अन्तत दोहोरो अंकले घटेर नयाँ वर्षलाई विदाई गरेको छ ।

लामो समयदेखि वियरिसको मार खेपेका लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजारमा गिरावट देखिएको सेयरबजारका जानकारहरु बताउँछन् ।

‘सबैभन्दा राम्रो पाटो बैंकको व्याजदर घटेको छ यसको सकरात्मक प्रभाव आगामी दिनमा पक्कै देखिने छ’, एक लगानीकर्ताले भने ‘सेयरबजारमा राजनीतिक देखि आर्थिक हरेक गतिविधिले प्रभाव पार्ने हुँदा लगानीकर्ता ढुक्क नहुँदा, थोरै भएपनि नाफा करेक्सन तिर लागेको साथै टिएमएसमा समस्या आउँदा पनि गाह्रो भएको हो । नयाँ वर्षमा नेप्सेको यात्रा सकरात्मक देखिन्छ ।’

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयरकारोबार भएको छ । कम्पनीको ८ करोड ४२ लाख ८६ हजार ५४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आर्दश लघुवित्त वित्तीय संस्था, कालिन्चोक दर्शन, मोल्ुङ हाइडोपावर कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। आजको दिन यी तिनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आजको दिन सिदार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम –२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त म्यूचुअल फण्ड ५.५० प्रतिशतले घटेको छ ।

कुल २७० कम्पनीको ४९ लाख १३ हजार ७ सय २ कित्ता सेयर किनबेच गर्दा १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।