उद्योग वाणिज्य महासंघको अध्यक्षमा ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

बिधानको ब्यवस्था अनुसार,वरिष्ठ उपाध्यक्ष रहेका ढकाल आजदेखि अध्यक्ष भएका हुन् । गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गोपनीयाको सपथ ग्रहण गराएका छन् ।

चार दशकअघि राष्ट्रिय वाणिज्य बैंकमा मध्यम तहका कर्मचारीको जागिर छाडेर सुरुमा रेमिट्यान्सको कारोबारमा हात हालेका ढकाल महासंघको दुई कार्यकाल कार्यकारिणी समिति सदस्य लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएका हुन् ।

दुई वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकाल नेउवा महासंघको विधानअनुसार आगामी दुई वर्षे कार्यकालका स्वतः अध्यक्ष निर्वाचित भएका हुन् ।

बागलुङको अमलाचौरको मध्यम वर्गीय परिवारमा जन्मिएका ५७ वर्षीय ढकाल आईएमई ग्रुपका अध्यक्ष हुन् ।

ग्लोबल आईएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आईएमई लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, आईएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी चन्द्रागिरि हिल्स लिमिटेड, आईएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरूमा आईएमई ग्र्रुपको प्रमुख हिस्सेदारी छ ।

यी कम्पनीहरूको कुल सम्पत्ति (नेटवर्थ) करिब ४५ अर्ब रुपैयाँ बराबरी छ । २०४५ सालबाट व्यावसायमा हात हालेर, २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आईएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् ।

कुनै समय आफै सामान्य कर्मचारी रहेका ढकाल नेतृत्वको आईएमई ग्र्रुपले २० हजार जनाभन्दा बढी प्रत्यक्ष र ४० हजार जनाभन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिइरहेको छ ।