१५ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक २.७९ अंकले घटेर ३६३.१२ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा एनआईसी एशिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ५ करोड ७५ लाख ४३ हजार ४ सय २५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कालिका दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज आर्दश लघुवित्त वित्तीय संस्था र एनएमबी सुलभ इनभेष्टमेन्ट फण्ड–२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २६७ कम्पनीको ३२ लाख ९ हजार २ सय १४ कित्ता सेयर किनबेच हुँदा ९८ करोड ३३ लाख ६७ हजार ३ सय ११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।