अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै तत्कालिन एनसीसी बैंकका सीईओलाई कारबाही


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७९ ८० को तेस्रो त्रैमासमा क वर्गका वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । क वर्गको इजाजतप्राप्त वाणिज्य बैङ्कहरू, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागबाट कारबाही गरिएको हो ।

राष्ट्र बैंकले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ । आफ्नाे अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई ५ लाख रुपैयाँ जरिवाना राष्ट्र बैंकले तिराएको हो ।

यस्तै, तत्कालीन नेपाल क्रेडिट एण्ड कर्मस बैंक लिमिटेड (हाल कुमारी बैंक लिमिटेड ) लाई सहुलियतपूर्ण कर्जा सम्बन्धी एकीकृत कार्यविधि २०७५ को २६ (क) विपरीत एकै समुहलाई एकभन्दा बढि सहुलियतपुर्ण कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

कतिपय कर्जाहरूमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरूमा यस बैंकको निर्देशन विपरीत हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको हुँदा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृत सचेत गराइएको राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले कुमारी बैंकलाई मुद्दती निक्षेपमा प्रवाहित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको भन्दै कारबाही गरेको छ । तत्कालीन कुमारी बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकले कतिपय कर्जाहरूमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेकोले राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।