वैशाख १९ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्दै घोराही सिमेन्ट


काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले वैशाख १९ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरमा ३३५ रुपैयाँ प्रिमियम थपेर ४३५ रुपैयाँका दरले रोजगारीमा गएकालाई सेयर बिक्री गर्ने छ। स्थानीय प्रभावितलाई भने ३०० रुपैयाँ प्रिमियम थपेर ४०० रुपैयाँका दरले सेयर बिक्री गर्ने छ।

कम्पनीको जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६ सय रुपैयाँ छ।कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने छ।

यसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितले पाउने छन्। बाँकी ७५ लाख ४६ हजार ६११ कित्तामा सर्वासाधारणले आवेदन दिन सक्नेछन्। सर्वासाधारणलाई भने कम्पनीले ४३५ रुपैयाँमा आइपीओ निष्कासन गर्नेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ २ गते हुनेछ भने ढिलोमा जेठ १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेभित्र आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाल अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीले अधिकतम ७ लाख ५४ हजार ६६१ कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।