अल्झियो ‘अक्सन मार्केट’


बजार संरचना व्यापक नभएको, विभिन्न किसिमका जोखिम वहन गर्न सक्ने र प्रतिफल प्राप्त गर्न खोज्ने लगानीकर्ता तथा धितोपत्र व्यावसायीलाई सम्बोधन गर्न नसकिएको चर्चा हुने गरेको छ । यद्यपि नेपाल स्टक एक्सचेन्जमा हुने कारोबार मूलतः साधारण सेयरको खरिद बिक्रीमा मात्रै सीमित छ । 

नेपाल २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भएपछि पुँजी बजार गतिविधिको औपचारिक थालनी भए पनि यसले लामो समय औपचारिक गति लिन सकेन । आर्थिक उदारीकरणपछि २०५० सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रलाई रूपान्तरण गरी दोस्रो बजार सञ्चालकका रूपमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड र समग्र पुँजी बजार नियामकको रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना भएपछि पुँजी बजारले थप गति लिएको देखिन्छ ।

यद्यपि, दोस्रो बजारमा कारोबार सुरु भएको झण्डै ३० वर्ष पुग्नै लाग्दा पनि धितोपत्र बजारमा कारोबारयोग्य औजारमा विविधता आउन सकेको छैन । दोस्रो बजारमा कारोबार सुरु भएसँगै लिलाममार्फत किनबेच हुने सेयर (अक्सन मार्केट) को जरुरत हुन्छ तर तीन दशक बित्दा पनि यसको आवश्यकता नेपाल धितोपत्र बोर्डले नदेखेको बजार विश्लेषकहरू बताउँछन् । 

धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत धितोपत्र कारोबार राफसाफलाई व्यवस्थित बनाउन ‘अक्सन मार्केट’ सञ्चालन ल्याउने विषय समेटेको छ । समयमै धितोपत्र राफसाफ नहुँदा कतिपय लगानीकर्ताहरूले कारोबार बन्द (क्लोज आउट)बापत भारी जरिवाना तिर्दै आएका छन् । अक्सन मार्केट सञ्चालनमा आएमा यस्तो जरिवाना तिर्नबाट लगानीकर्ताहरू जोगिन सक्छन् । 

२०७३ सालमा नेपाल स्टक एक्सचेन्जले ‘अक्सन कारोबार कार्यविधि २०७३’ बनाएर नेपाल धितोपत्र बोर्डमा पेश गरेको थियो । नेप्सेले दोस्रो संशोधनसहित पठाएको कार्यविधि २०७५ सालमा धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की बताउँछन् । 

कार्की भन्छन्, –“हाम्रो तर्फबाट केही समस्या छैन, हामी तयारी अवस्थामा छौँ । सीडीएससीले सेयर राफसाफ सम्बन्धी कार्यविधि बनाएर बोर्डमा पेश गरेको छ, उक्त कार्यविधि स्वीकृत भएपछि अक्सन मार्केट सञ्चालनमा आउँछ ।’ 

उनका अनुसार नेपाल धितोपत्र बोर्डले अनुमति नदिँदा नेप्सेले अक्सन मार्केट सञ्चालनमा ल्याउन सकेको छैन । यद्यपि बोर्डका अधिकारीहरू प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा बोल्नै चाहँदैनन् । यस सन्दर्भमा जानकारी दिन बोर्डका केही अधिकारीसँग सम्पर्क गर्दा एकले अर्कालाई देखाउँदै ‘आफूलाई जानकारी नभएको’ भन्दै पन्छिए ।

बजार संरचना व्यापक नभएको, विभिन्न किसिमका जोखिम वहन गर्न सक्ने र प्रतिफल प्राप्त गर्न खोज्ने लगानीकर्ता तथा धितोपत्र व्यावसायीलाई सम्बोधन गर्न नसकिएको चर्चा हुने गरेको छ । यद्यपि नेपाल स्टक एक्सचेन्जमा हुने कारोबार मूलतः साधारण सेयरको खरिद बिक्रीमा मात्रै सीमित छ । 

पुँजी बजारका थप विकास गर्न यसको संरचनालाई अद्यावधिक गर्ने, नीति नियममा समयानुकूल परिमार्जन गरी कारोबारयोग्य वित्तीय औजारमा विविधता ल्याउन आवश्यक हुन्छ । त्यसमध्ये पनि अक्सन मार्केट आधारभूत आवश्यकता भइसकेको जानकारहरूको ठहर छ ।

पुँजीबजारको विकास गर्नको लागि बजारमा विभिन्न किसिमका उपकरण र सुविधाहरू उपलब्ध हुनेपर्ने धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगाना बताउँछन् । “अक्सन मार्केटको अभ्यास नयाँ कुरा होइन, जतिबेला आवश्यक भयो, त्यतिबेला प्रयोग गर्ने कुरा हो । अक्सन मार्केटको उपादेयता कुनै एउटा क्षेत्रमा धेरै हुनसक्छ तर यसले समग्र पुँजी बजारको विकासमा सहयोग पु¥याउँछ,” ढुंगाना भन्छन् ।

पुँजी बजारलाई विकास र विस्तार गर्नुपर्छ भन्ने धारणा हाम्रोमा अझै विकास नहुँदा अक्सन मार्केट जस्ता आधारभूत आवश्यकताहरू ओझेलमै परेको ढुंगानाको भनाइ छ । 

के हो अक्सन मार्केट ? 

कारोबारमा सहभागी बिक्रेता कारोबारीले कारोबार दिनभित्र आफ्नो सेयर (धितोपत्र हस्तान्तरण) नगरेको वा गर्न नसकेको अवस्थामा ब्रोकर (धितोपत्र दलाल व्यावसायी)ले अक्सन मार्केटबाट खरिद गरी हस्तान्तरण गर्न सक्छन् । 

अक्सन मार्केटमा सामान्य लगानीकर्ता सहभागी हुँदैनन् । आफ्ना ग्राहकको दायित्व पुरा गर्ने गरी ब्रोकर (कारोबार सदस्य) मात्र अक्सन मार्केटमा सहभागी हुन पाउँछन् । अक्सन मार्केट सञ्चालनका लागि स्टक एक्सचेन्जले निश्चित समय तोक्न सक्छ । अक्सन मार्केटमा भएको कारोबारको राफसाफ त्यसको एक दिन (‘टी प्लस एक’ दिन) भित्र गरिसक्नुपर्ने व्यवस्था हुन्छ । अक्सनमार्फत धितोपत्र खरिद गर्ने क्रममा वास्तविक कारोबार मूल्यभन्दा बढीमा धितोपत्र खरिद गर्दा अपुग रकम ग्राहकले व्यहोर्नु पर्छ ।

पछिल्लो समय कारोबार लगानीकर्ताको संख्या बढेसँगै कारोबारको आकार पनि बढेको अवस्थामा अक्सन मार्केट अति आवश्यक रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । प्रवक्ता पराजुलीका अनुसार २०७५ सालमा नेप्सले कार्यविधि ल्याएको थियो ।

अहिले काठमाडौँ केन्द्रित सेयर बजार विश्वभर फैलिएको र लगानीकर्ताको संख्या बढेको अवस्थामा बजार झनै जोखिम युक्त बनेको छ । यस्तो बढेकोे स्थितिमा अक्सन मार्केट अनिवार्य सञ्चालन भइसक्नु पर्ने थियो ।

“पुँजीबजारमा सेयर किनेपछि सेयर पाउने र बेचेपछि पैसा पाउने ग्यारेन्टी हुनुपर्दछ । सेयर किनेपछि ब्रोकरलाई सेयर राफसाफ नगर्दा क्लोजआउटमा परिन्छ । क्लोजआउट एउटा समस्या हो । यसको समाधनको लागि अक्सन मार्केटको आवश्यकता हुन्छ,” प्रवक्ता पराजुली भन्छन् । 

अक्सनमा ब्रोकर मात्रै सहभागी

नेप्सेले सञ्चालन गर्ने अक्सन मार्केटमा पनि धितोपत्र दलालहरू नै सहभागी हुने नेप्सेका पराजुली बताउँछन् तर उनीहरूले आफ्ना लगानीकर्ताहरूका लागि कारोबार गर्न पाउनेछन् भने आफ्नै लागि भने बोलकबोलमार्फत सेयर खरिद गर्न नपाउने व्यवस्था गरिएको उनको भनाइ छ । 

बजार खुल्ने समयभन्दा अगावै आवश्यक सेयरको संख्या र मूल्य खुलाई नेप्सेमा पेश गर्नुपर्छ भने खरिदकर्ताले पनि सोही प्रक्रियाअनुसार नेप्सेमा जानकारी गराउँछ । अक्सन मार्केटमा भएको कारोबारको राफसाफ कारोबार भएको भोलिपल्ट गरिने व्यवस्था गरिएको छ ।

कार्यान्वयनमा ल्याउने नियतमै शंका

ताराप्रसाद फुल्लेल
उपाध्यक्ष, सेयर लगानीकर्ता संघ

पुँजीबजारको विकास र विस्तारको लागि लगानीकर्ताहरूले वर्षौंदेखि उठाउँदै आएको महत्वपूर्ण मागमध्ये अक्सन कारोबार पनि एक हो । धितोपत्र बजारको आवश्यक पूर्वाधारको रूपमा रहेको अक्सन मार्केट सञ्चालनको लागि नेप्सेले पटक पटक अक्सन कारोबार कार्यविधि बनाए पनि सञ्चालनमा आउन सकेको छैन । 

अक्सन मार्केट सञ्चालनमा आउँदा क्लोजआउट अर्थात् बिक्री गरेको सेयर समयमा नपठाएबापत तिर्नुपर्ने जरिवानाको समस्या निराकरण हुन्छ । अक्सन मार्केट सञ्चालनका लागि यसअघि २०७३ सालमा नै नेप्सेले ‘अक्सन कारोबार कार्यविधि २०७३’ को मस्यौदा बनाएको थियो भने सोपश्चात धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७४ को मस्यौदा निर्माण गरेको थियो । विडम्बना नियामकको वार्षिक कारोबारमा कहिले समेटिने र कहिले नसमेटिने गर्दा कार्यान्वयनमा ल्याउने नियतमै शंका गर्ने ठाउँ रहन्छ ।

बोर्डबाट अनुमतिपत्र तथा नेप्सेको सदस्यता प्राप्त सम्पूर्ण सदस्य व्यावसायीहरू अक्सन मार्केटको कारोबारमा सहभागी हुन पाउनेछन् तर कुनै पनि सदस्य दलालले सट्टेवाजीका लागि यो अक्सन मार्केट प्रयोग गर्न नपाउने प्रवक्ता पराजुली बताउँछन् । 

अक्सन मार्केटमा सट्टापट्टामा सहभागी हुन गएमा, खरिदकर्ता सदस्य दलालहरूलाई उपलब्ध गराउनु पर्ने सेयर सदस्य दलाल स्वयंले राखेमा, अवाञ्छित र भ्रमपूर्ण सूचना संप्रेषण गरी धितोपत्रको मूल्यमा असर पर्न गएमा, भित्री सूचनाको आधारमा कारोबार गरेमा र नेप्सेले दिएको निर्देशनहरू पालना नगरेमा कारोबार रद्ध गर्न सक्ने व्यवस्था गरिएको छ ।

अक्सन मार्केट सञ्चालन धेरै ढिला भइसक्यो

धर्मराज सापकोटा
अध्यक्ष, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल

दोस्रो बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्ड र अक्सन मार्केट भनेको आधारभूत आवश्यकता हो । जहिले दोस्रो बजारमा सेयर कारोबार सुरु भयो त्यति बेलादेखि नै अक्सन मार्केटको आवश्यक थियो । हाम्रो पुँजीबजारमा अक्सन मार्केट आवश्यक छ, छैन भन्दा पनि धेरै ढिला भइसकेको अवस्था हो । दोस्रो बजारमा क्लोजआउट शून्य नै हुनु पर्दछ । क्लोजआउटसम्म पुग्नु भनेको अन्तिम विकल्प हो । 

सेयर बिक्री गरेपछि स्टक एक्सचेन्जको प्लेटर्फमका किन्नेले सेयर किन्न पाउँछ भन्ने ग्यारेन्टी हुनु पर्छ । अन्तर्राष्ट्रिय अभ्यासमा क्लोजआउटको प्रावधान हुँदा हुँदै पनि विगत १० औं वर्षदेखि क्लोजआउट नपरेको स्थिति छ । 

हाम्रो बजारमा पनि पहिलाको तुलनामा कमै छ । क्लोजआउटको समस्या कम होइन शून्य नै हुनु पर्दछ । अक्सन मार्केट संचालन नहुँदा हामी समस्यामा छौँ । क्लोज आउटको प्रावधान ल्याउँदा लगानीकर्तादेखि ब्रोकरसम्म मारमा पर्दछन् भनेर कुरा उठाएका थिर्यौ तर ६/७ वर्षसम्म पनि क्लोजआउटको प्रावधान जस्ताको त्यस्तै छ ।

‘क्लोजआउट’ समस्या ?

सामान्यतया सेयर बजारको दोस्रो बजारमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको धितोपत्रको खरिदबिक्री हुन्छ । सेयर बेच्ने (बिक्रेता) र सेयर किन्ने (खरिदकर्ता) जोड्ने सिस्टम ब्रोकर कम्पनीले उपलब्ध गराउँछन् ।

हाल नेपालमा ५८ ब्रोकर कम्पनी छन् । दोस्रो बजारमा कारोबार गर्न कुनै एक ब्रोकरमा पुग्नु पर्छ । खाता खोलिसकेपछि दोस्रो बजारमा सूचीकृत कम्पनीको सेयर खरिद बिक्री गर्न पाइन्छ । ब्रोकरले उपलब्ध गराएको सिस्टममार्फत बिक्रेताले बिक्री अर्डर र खरिदकर्ताले खरिद अर्डर म्याच भएपछि कारोबार सम्पन्न हुन्छ । 

कारोबार सम्पन्न भएपश्चात बिक्रेताले बिक्री गरेको सेयर कारोबार दिनको दोस्रो दिन (टी प्लस २ को १२ बजेभित्र) सेयर ट्रान्सफर (ईडीआईएस) गरिसक्नु पर्छ । कुनै बिक्रेताले सयमभित्र सेयर हस्तान्तरण नगरे ‘क्लोजआउट’ (बिक्री गरेको सेयर समयमा नपठाएबापत तिर्नुपर्ने जरिवाना) मा परिन्छ अर्थात् जरिवाना तिर्नुपर्छ । बिक्रेतालाई जरिवाना तिर्नुपर्ने भए पनि लगानीकर्ताले समयमा सेयर नपाउने समस्या हुन्छ । अक्सन मार्केट सञ्चालनमा ल्याउँदा सो समस्याको निराकरण हुने अपेक्षा गरिएको छ । नेपाल स्टक एक्सचेन्जको प्लेटफर्ममा ‘क्लोजआउट’ शून्य हुनुपर्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । उनी भन्छन्, “क्लोजआउट हुनु हुँदैन । पुँजीबजारमा सेयर किन्नेले सेयर पाउनु पर्छ र बेच्नेले पैसा पाउने ग्यारेन्टी हुनु पर्दछ । क्लोजआउट हुनु भनेको अन्तिम बिकल्प हो । यो समस्या समाधानको लागि अक्सन मार्केटको खाँचो छ ।’

अक्सन मार्केट आधारभूत आवश्यकता हो

पूर्णप्रसाद आचार्य
सीईओ, सीडीएससी एण्ड क्लियरिङ लिमिटेड

क्लोजआउटको समस्या समाधानको लागि पनि अक्सन मार्केट आवश्यक छ । यो एउटा आधारभूत कुरा नै हो । हामी पनि अक्सन मार्केट छिट्टै सञ्चालन गर्नु पर्छ भन्ने पक्षमै छौँ । 

अक्सन मार्केटमा सेटलमेन्ट र क्लियरिङ कसरी गर्ने भन्ने हामीले हेर्ने विषय भएकोले कार्यविधि बनाएर स्वीकृतिका लागि ३ महिना अगाडि धितोपत्र बोर्डमा पेश गरेका छौं तर अहिलेसम्म स्वीकृत भएर आएको छैन । बोर्डबाट स्वीकृत भएर आएपछि अक्सन मार्केट सञ्चालन हुन्छ । 

पुँजी बजारलाई विकास गर्दै जाँदा अक्सन मार्केट आधारभूत आवश्यकता हो । क्लोजआउटमा परेकोलाई बेचविखन गर्नको लागि ब्रोकरहरूलाई पनि अक्सनबाट जाँदा सजिलो हुन्छ भन्ने हो । पुँजीबजारमा अन्य नयाँ केही उत्पादन नआउँदा पनि अक्सन जरुरी छ भनेर अगाडि बढेका हौँ ।

(टक्सार म्यागजिन, २०८० बैशाख अंक, पृष्ठ १२ देखि १३ सम्म)