बैंक तथा वित्तीय संस्था कम्प्युटर बोकेर ‘नयाँ शोषक’को रुपमा आए : पर्यटनमन्त्री किराँती


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिएका छन् ।

बैँक तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किराँतीको भनाई थियो ।

होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे ।

मन्त्री किराँतीले पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए । उनले सहरमा पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको स्मरण गराए । मन्त्री किराँतीले बैंक तथा वित्तिय संस्थाहरूको ब्याँज घटाउन सक्ने अवस्था नरहेको पनि बताए ।

उनले भने,“प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनुपर्‍यो । यसरी आम रुपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ । १२ कक्षा पढेपछि सबै विद्यार्थीहरु विदेश जान्छन् । १२ कक्षा पढेपछि विद्यार्थीहरु किन जान्छन् विदेश रु पैसा छैन । बैंकलाई लगाई दिन्छ । पछि मिटरमा ब्याज लिन्छ । फेरी उसले पैसा फर्काएर लान्छ । नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर ।”

मन्त्री किराँतीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यक्ता पनि औंल्याए । उनले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन समेत दिए ।