वार्ता टोली गठन गरी आजै सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच छलफल हुने


काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रसँग आजै छलफल गर्ने भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गरी आइतबार बेलुका छलफल गर्ने भएको हो ।

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफलले उक्त निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो ।

“आज दिउँसो २ बजे प्रधान मन्त्रीज्यूको निर्देशनमा उपप्रधान मन्त्री पुर्णबहादुर खड्का ज्यू र मुख्य सचिब ज्यू सँग हाम्रो मागको बारेमा छलफल गर्नको लागि बार्ता टोली छ बजे सम्म गठन गर्ने र बार्ता सुरु गर्ने भन्ने निर्णय भयो,” राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पुनले आविष्कार, अनुसन्धान, नवप्रवर्तन लगायतका क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । सरकारले आफ्ना माग पूरा नगरेसम्म सडकमै सुतेर धर्ना दिने घोषणा गरेका महावीर पुन सडकमै बसेका छन् ।