बैंक तथा वित्तीय संस्थाको हानी नोक्सानी गर्ने विरुद्ध कठोर कदम चाल्छौँ: सिबिफिन


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको हानी नोक्सानी गर्ने विरुद्ध कठोर कदम चाल्ने बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले जनाएको छ ।
सिबिफिनको २०८० बैंशाख १४ गते बसेको कार्यसमितिको चौंथो बैठकले बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, भ्रम सिर्जना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत कार्य गर्नेलाई कठोर कदम चाल्न परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको जनाएको छ ।

परिसंघले बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवम् कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरुबाट केही समयदेखि गैरकानूनी गतिविधिहरु भइरहेको जनाएको छ ।

“कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध मुद्धा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सादर निवेदन गर्दछौं”, परिसंघले विज्ञप्तीमा उल्लेख गरेको छ ।