महावीर पुनसँग सरकारले गर्यो सात बुँदे सहमति, आन्दोलन स्थगित


काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । सोमबार दिउँसो सिंहदरबारमा भएको बैठकमा सात बुँदे सहमति भएको हो ।

सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने छ । त्यस्तै कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसदको आउँदो अधिवेशनामा विधेयक पेश गरी सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पारी संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने सहमती भएकाे छ ।

साथै, आगामी आर्थिक वर्ष पुँजीगत विकास बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास काेषमा जम्मा गर्ने पनि सहमतिमा उल्लेख छ ।

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ ।

महावीर पुनको नेतृत्वमा माइतीघर मण्डलमा भइरहेको धर्ना स्थगित गर्ने सहमति पनि भएको छ।