पूर्वब्रिटिस गोर्खा सैनिक बुढामगरद्वारा दोस्रो पटक मेरा पिक सफल आरोहण,सगरमाथाका लागि अनुकुल मौसम कुर्दै


काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन् ।

सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गरेका हुन् ।

उनले गत अप्रिल १६ अप्रिल बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गरेका हुन् ।

दुई पटक मेरा पिक चढीसकेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरे । घुँडा भन्दा माथिबाट दुवै खुट्टा गुमाउनुभएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा छन् ।

अफगानिस्तानमा तालिवानसँगको लडाईंमा घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका उनले साहसिक पर्यटनमार्फत एक पछि अर्को रेकर्ड राख्दै आएका छन् ।

कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थालेका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्तिसमेत हुन् ।

उनले चुलु फार इस्ट आरोहण, हिँडेर सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गरेर किर्तिमान राखेका छन् । उनले भने,“मैले यो सुन्दर हिमालको दोस्रो पटक आरोहण गरेको हुँ । कुनैपनि दोहोरो एम्प्युटीले यो पिक आरोहण गरेको छ जस्तो मलाई लाग्दैन । मेरा पिकको दोस्रो पटकको सफल आरोहणले मलाई सगरमाथा आरोहणका लागि थप उर्जा दिएको छ । अहिले म मेरो आरोहण दलसँग सगमाथा आरोहणको अन्तिम चरणमा मौसमको अनुकुलताको पर्खाइमा छु ।”

मौसमले साथ दिने बित्तिकै आरोहणलाई अन्तिम नतिजा दिनेगरी तयारीमा बसेको बुढामगरले बताए ।

उनले भने,“मेरो यो अभियान आफ्नो व्यक्तिगत नभइ सिंगो नेपाल र नेपालीको लागि पनि हो । यस अभियानमा तपाईंहरू सबैले मलाइ दिनुभएको माया, प्रेम, उत्प्रेरणाले नै सफलतातर्फ अगाडि बढिरहेको छु । सबैमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाल म राम्रो अवस्थामा रहेको जानकारी गराउन चाहन्छु ।”

बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकुलता पर्खिएर सगरमाथा आधार शिविरमा बसेका छन् ।