‘विद्युतीय गाडीमा सरकारले विभिन्न छुट दिँदै आएको छ’


काठमाडौँ । आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले सरकारले विद्युतीय गाडी विभिन्न छुट दिँदै आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको अन्तरक्रिया कार्यक्रममा निर्देशक प्याकुरेलले रोजगारी सिर्जना र उद्योग स्थापना गर्नेलाई कम्पनीहरुलाई करको दरमा छुट दिँदै आएको बताएका छन् ।

“आयकर ऐनको दफा ११ मा रोजगारी सिर्जना र उद्योग स्थापना गर्ने कम्पनीहरुलाई करको दरमा छुट दिएको छ । कतिपय उत्पादनलाई ५ वर्ष कर नलगाउने, ५ वर्षपछि आधामात्र कर लिने कतिपय १० वर्षसम्म छुट दिने व्यवस्था छ,” उनले भने, “आयकर ऐनको दफा ११ को उपदफा ३ घ ले विद्युतीय सवारी साधन तथा एसेम्बल गर्ने उदेश्यले २०८२ साल असारमसान्तभित्र स्थापना हुने उद्योगलाई कारोबार सुरु गरेको मितीले ५ वर्षसम्म करमा ४० प्रतिशत छुट भनेको छ ।”

उनले विद्युतीय गाडीलाई ४० प्रतिशत आयकर छुट दिने व्यवस्था भएको बताए । उनले विद्युतीय रिक्सा उत्पादन गर्ने उदेश्यले दर्ता भएका उद्योगलाई यसलाई चाहिने पाटपूर्जा र सहायक सामग्री आयात गर्दा मूल्य अभिवृद्धि करमा छुट दिने गरेको जानकारी दिए ।

पेट्रोल डिजेलको भन्दा केही कुरा इलेक्ट्रिक निजी गाडीमा छुट भएपनि आयात लागत नै बढी हुने उनले बताएका छन् ।