मुलुक आर्थिक मन्दितर्फ गएको नेपाल उद्योग वाणिज्य महासंघको निष्कर्ष


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले मुलुक आर्थिक मन्दितर्फ गएको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको भन्दै महासंघले मुलुक आर्थिक मन्दिमा गएको निष्कर्ष निकालेको हो ।

महासंघले भनेको छ,“ राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस बर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यससंगै पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋृणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको छ ।”

उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋृणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुंदै गएको संकेत भन्दै महासंघले एक बर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मुल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउंदै आएको स्मरण गराएको छ ।

महासंघले सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेकोतर्फ महासंघ गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघले ‘सरकार र नेपाल राष्ट्र बैंक संवेदनशील हुनुपर्ने आवश्यकता थप महसुस भएको छ । अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्नेछ । उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋृणात्मक रहेको हुँदा बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौति गरि पूँजीगत खर्च बढाउन’ आग्रह गरेको छ ।

निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

केन्द्रीय बैंकले मुख्यतया नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरि ब्याजदर घटाउन पहल गर्नुपर्ने महासंघको भनाई छ ।

महासंघले पुराना ऋृणीहरुले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकहरूको खराब कर्जा समेत करिब चार प्रतिशत पुगिसकेको भन्दै कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरणको सुविधा दिइनुपर्ने सुझाव दिएको छ ।

नौ महिना यता लगातार सात प्रतिशतभन्दा बढि मुल्यवृद्धिदर रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको महासंघको निष्कर्ष छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनेको छ,“निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत संगसंगै प्रभावित भैरहेकोले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिदै जानेतर्फ ध्यानाकर्षण गराउँदै महासंघ, सरकार र केन्द्रिय बैंकको सम्वेदनशीलताका लागि पुनः आग्रह गर्दछ । ”