सूचनाको हकको महत्वलाई अझै बुझाउन सकिएन : सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले सूचनाको महत्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताए ।

उनले सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउनेकुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गरे ।

उनले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभाकारी रुपमा कार्यान्वयन हुने बताए ।

सभामुख घिमिरेले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा बिस्तार गर्न आवश्यक रहेको बताए ।

उनले भने,“ हाम्रो देशमा पनि अहिलेको लोकतन्त्र र गणतन्त्र उपभोग गर्ने सन्दर्भमा संविधान निर्माण गर्नुभन्दा केही अघिदेखि सूचनाको हकलाई स्थापित गरेका छौँ । मौलिक हकको रुपमा राख्यौँ , यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्रिय सूचना आयोगको गठन गरेका छौँ, त्यसले निरन्तर काम गरिरहेको छ । यसको महत्वलाई आत्मसाथ गर्नेकुरामा केही अभाव छ ।”

सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरुको सूचना नागरिकस्तरमा बिस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने बताए ।