ठुला भ्रष्टाचारका फाइल खोल्न अध्यक्ष लिङदेनको आग्रह


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताए ।

सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने उनको भनाई थियो ।

वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई अध्यक्ष लिङ्देनले आग्रह गरे ।

उनले भने,“‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरु पक्राउ परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरुको नामहरु आइराखेका छन् । म यहीँबाट सरकारलाई भन्न चाहन्छु, यो छानविनको क्रम, यो कारबाहीको क्रम जसरी अगाडी बढेको छ ।”

अध्यक्ष लिङदेनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको आरोप लगाए ।

उनले सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको उल्लेख गरे । सरकारको आगामी यात्रा पनि स्पष्ट नभएको उनको भनाई थियो ।

उनले भने,“देश कुनैपनि बेला आर्थिक हिसाबले टाट पल्टन सक्ने अवस्थामा छ । अहिले राजश्व जति उठ्छ, त्यतिले चालु खर्च पनि धान्न सकिएको अवस्था छैन । राजश्वले कर्मचारीलाई तलव खुवाउन पनि पुग्ने अवस्था छैन ।”

अध्यक्ष लिङदेनले देशमा नाङ्गो रुपले विदेशी हस्तक्षेप बढेको दाबी गरे ।