काठमाडाैँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२, भङ्गालमा अवैध रूपमा सुन प्रशोधन गरिरहेको अवस्थामा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा छापा मार्दै करिव ५४ करोड ६० लाख रूपैयाँ बराबरको २१ किलो ७५० ग्राम सुन र प्रशोधनका लागि प्रयोग हुने मेसिनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले पक्राउ परेकाहरूमा हान फेइ, झोउ लोङ कुइन र वाङ ज्याङ जेन रहेको बताए ।
उनीहरूले बुढानिलकण्ठस्थित एक घर मासिक ३ लाख ३० हजार रूपैयाँ भाडामा लिई अवैध सुन प्रशोधन कारखाना सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीकाअनुसार बरामद गरिएको सुन बिस्कुट र लेसिलो (पेस्ट) अवस्थामा छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको परीक्षणबाट सो धातु सुन नै भएको पुष्टि भएको छ ।
पक्राउ परेकाहरूको साथबाट सुन तौलने तराजु, प्रशोधन गर्ने मेसिन, विभिन्न आकार दिने मोल्डिङ उपकरण, नगद (नेपाली र चिनियाँ), मोबाइल, सिमकार्ड तथा एटीएम कार्डहरू पनि बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानले यो गिरोह चीनमा रहेका ‘जेन जिया ल’ नामक व्यक्तिको निर्देशनमा सञ्चालित रहेको देखाएको छ । मुख्य योजनाकार मानिएका सु क्यानले घर भाडामा लिएर चीन फर्केपछि अन्य व्यक्तिहरूलाई नेपाल पठाएको र उनीहरूले ‘वी–च्याट’ मार्फत निर्देशन लिँदै सुन प्रशोधन र ओसारपसार गर्ने गरेको पाइएको छ । गिरोहले कच्चा सुनलाई केमिकलको प्रयोगबाट विभिन्न आकारमा ढाल्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले गाडीमा डेलिभरीका लागि लैजान लागिएको अवस्थामा समेत केही सुन बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिकहरू असोज महिनाको विभिन्न मितिमा नेपाल प्रवेश गरेको अभिलेखबाट देखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्