लगानीमैत्री वातावरण बनाउन व्यवसायीको समस्याप्रति सरकार गम्भीर छ: उद्योगमन्त्री रिजाल 


काठमाडौँ । लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगी व्यवसायीको समस्याप्रति सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नु परेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नु पर्ने भए यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने बताए ।

कृषि, ब्यापार, उत्पादन लगायतमा सरकार निक्कै गम्भीर रहेको स्पष्ट पार्दै मन्त्री रिजालले यसका लागि सरकारलाई आवश्यक सुझाब दिन समेत उद्योगी व्यवसायीलाई आग्रह गरे। कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्दी तर्फ जान नसक्ने समेत बताए ।

पोटेन्सियल इन्भेस्टमेन्ट सेक्टर्स अफ नेपाल फर सस्टेनेबल इकोनिमी कार्यक्रम को सेसन मन्त्री रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

“नेपालको वर्तमान संविधानले आफ्नो राष्ट्रिय हित अनुरूप आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र पूर्वाधार विकासका लागि विदेशी पुँजी र प्रविधि लगानीलाई प्रोत्साहन र परिचालन गर्ने नीति लिएको छ,” मन्त्री रिजालले भने, “पन्ध्रौं योजनाले दिगो विकास लक्ष्य हासिल गर्न र सन् २०३० सम्ममा समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न ठूला पूर्वाधार आयोजना र प्राविधिक क्षेत्रमा विदेशी लगानी परिचालनमा जोड दिएको छ ।”

विदेशी लगानीलाई आकर्षित गर्नका लागि हालसम्म फ्रान्स, बेलायत, मौरिसियस, फिनल्यान्ड र भारत गरी ५ मुलुकहरूसँग विप्पा सम्झौता भएको तथा एघार मुलुकहरूसँग दोहोरो करमुक्तिका लागि सम्झौता भएको मन्त्री रिजालले बताए।

सरकारले तोकेको क्षेत्रहरूमा स्वचालित प्रणालीबाट रू. १० करोडसम्मको वैदेशिक लगानी गर्ने लगानीकर्ताको विदेशी लगानीको स्वीकृति विद्युतीय माध्यमबाट स्वचालित प्रणालीबाटै हुने व्यवस्था विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०८० मन्त्री रिजाले जानकारी दिए । “लगानीकर्ताहरूका लागि एकै स्थलबाट सबै सेवाहरु प्रवाह गर्न उद्योग विभागमै एकल विन्दु सेवा केन्द्रको स्थापना गरिएको छ,” उनले भने ।

वैदेशिक लगानीको थ्रेसहोल्डलाई ५ करोडबाट घटाई २ करोड बनाइएको उनले जानकारी दिए। नेपालको दिगो अर्थतन्त्रको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सरकारको प्राथमिकतामा मन्त्री रिजालको भनाइ थियो ।