५ सय र हजारका नोट प्रतिबन्ध गर्न माग


काठमाडौँ । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्याण्ड गर्नुपर्ने माग गरेकी छन् ।

राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्द पन्तले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइन् ।

उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन् । किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनको भनाई थियो ।

उनले भनिन्,“हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ, किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजश्व संकलनको समस्या के हो ? किन भएन राजश्व संकलन रु यसलाई रोक्ने कुरा के हो ? रोक्नेतिर जाऔँ । भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्नेकुरामा म विश्वास गर्दिन । बोरामा बाँधेका पैसाहरुलाई ५ सय र हजारका नोटलाई ब्याण्ड गरौँ ।”

सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्नेकुराको खोजि गर्न आवश्यक रहेको बताइन् ।