यौन दुर्व्यवहारमा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना


काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको मंगलबार न्यूयोर्कको एक निर्णायक मण्डलले ठहर गरेको छ।

दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर निर्णायक मण्डलले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ। ती लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्।

ट्रम्पले निर्णायक मण्डलको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेका छन् र उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने जनाएका छन्।

क्यारोलले सन् १९९० को दशकमा बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोपमा भने निर्णायक मण्डलले ट्रम्पलाई दोषी देखाएको छैन् ।