डेक्ची डेरीदेखि एनडीजसम्म


लोकसेवा पनि थिएन, पढेका मान्छे पनि खासै नभएको बेला एसएलसी पास गरेको ठिटो राजभण्डारी १४ वटा मन्त्रालयमा भर्ति भएका कर्मचारीमध्येमा परे । उनी योजना विकास मन्त्रालयमा नियुक्त भएका थिए । बाहिर ‘क्लर्क’को मासिक १७ रुपैयाँ तलब हुँदा उनको तलब ५५ रुपैयाँ तोकिएको थियो । त्यो बेला ५५ रुपैयाँ सुब्बाको मात्र तलब हुन्थ्यो । 

विं.सं. १९९० को भूकम्प गएकै साल जन्मिएका डा. हेरम्ब राजभण्डारी शारीरिक तथा मानसिक रूपमा चुस्त छन् । ललितपुरस्थित नेपाल डेरीको उद्योगमा भेटिएका ९० वर्षीय राजभण्डारी अझै पनि व्यावसायिक जीवनमा सक्रिय छन् । पञ्चायत कालदेखि प्रजातन्त्र कालमा पनि सरकारी जागिरे रहेका कृषि विज्ञ राजभण्डारी नेपालमा निजी क्षेत्रमा डेरी उद्योग सुरु गर्ने सम्भवतः पहिलो व्यक्ति नै हुन् । 

जागिरे र पढाइसँगसँगै

वि.सं. २००७ सालको क्रान्ति सफल भयो र विशेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भए । लोकसेवा पनि थिएन, पढेका मान्छे पनि खासै नभएको बेला एसएलसी पास गरेको ठिटो राजभण्डारी १४ वटा मन्त्रालयमा भर्ति भएका कर्मचारीमध्येमा परे । उनी योजना विकास मन्त्रालयमा नियुक्त भएका थिए । बाहिर ‘क्लर्क’को मासिक १७ रुपैयाँ तलब हुँदा उनको तलब ५५ रुपैयाँ तोकिएको थियो ।

त्यो बेला ५५ रुपैयाँ सुब्बाको मात्र तलब हुन्थ्यो । शंकरदेव क्याम्पसबाट आई ए उत्तीर्ण भएपछि उनले भारतको पटनाबाट स्नातक गरे । पुनः उच्च शिक्षाको लागि सरकारी कोटामा पुणा कलेज अफ एग्रिकल्चरमा कृषि पढ्न पुगे । “रामपुरमा कृषि कलेज खोल्नु पर्ने सरकारको कार्यक्रम थियो । कृषिमा पढेकालाई उच्च शिक्षा पढाउन पठाउने नीति अनुरूप २–३ जना छानिएका रहेछौं,” उनले भने । 

पढाइ सकेर पुनः नेपाल आएर काम गरेका उनले त्यसपछि फिलिपिन्सको डिग्री लिए । उनको विद्यावारिधिको विषय थियो डेरी (चिज) । राजभण्डारीले फिलिपिन्सको तत्कालीन सहरबाट ४० किलोमिटर टाढा गाउँमा चिजको गुणस्तरको विषयमा थेसिस गरेका थिए । 

फिलिपिन्सबाट अध्ययन सकेर फर्केपछि हाल कृषि अनुसन्धान परिषद् (नार्क) को जग्गा रहेको क्षेत्रलाई विकास गर्ने गरी उनले अनुसन्धान केन्द्र विकासमा काम गरे । त्यससँगै कृषि तथा पशु विकासको काममा संलग्न भए ।

“सुरेन्द्रराज शर्मा सचिव भएको डेरी विज्ञ भएकाले मलाई दुग्ध विकास संस्थानमा लगियो, २०२८ देखि आठ वर्ष त्यहाँ काम गरेँ,” उनले भने । 

त्यो बेला सहकारी, संस्थान वा निगममार्फत् र पञ्चायत प्रणालीबाट काम गर्ने नीति थियो । काठमाडौँमा त्यतिबेला १५ सय लिटर दुध दैनिक संकलन हुन्थ्यो । “उत्पादन वृद्धि गर्न निजगढ, चन्द्रनिगाहपुर, बिराटनगरबाट पनि दुध ट्यांकरबाट ल्याउने काम अगाडि बढाइयो, आपूर्ति बढाउने काममा लागियो,” राजभण्डारी विगत सम्झन्छन् । 

उनका अनुसार पहिले भक्तपुर, बनेपाबाट मात्र दुध संकलन हुने गरेकोमा हेटाैँडालाई पनि नयाँ संकलन केन्द्रको रूपमा विकास गरियो । हेटाैँडा डेरी २०३३ सालमा स्थापना गरियो । दुध संकलनको नयाँ नेटवर्क बनाइयो राजभण्डारीकै नेतृत्वमा । 

“हेटौँडा डेरी राजा वीरेन्द्रबाट उद्घाटन गरिएको थियो, पुरै राजपरिवारले आधा घण्टासम्म दुध प्रशोधन गरेको हेर्नुभयो र आइसक्रिम खानु भयो,” उनले स्मरण गरे ।

हेटाैँडा डेरी, विराटनगर, पोखरा र बालाजुमा डेरी स्थापना उनकै कार्यकालमा भएको थियो । दुग्ध विकास संस्थानमा आठ वर्षको कार्यकाल सकेपछि डाइरेक्टर जनरल (महानिर्देशक)मा नियुक्त भए । पहिले एउटा कृषि विभाग मात्र थियो । नयाँ विभागको रूपमा पशु विकास तथा पशु स्वास्थ्य विभाग बन्यो, जसको नेतृत्व राजभण्डारीलाई दिइयो । “नयाँ गठन भएको विभागमा संलग्न भएपछि तीन वर्ष जति बसेँ । २०४३ सालतिर अतिरिक्त सचिवमा प्रमोसन भएँ,” उनले भने । 

पञ्चायतदेखि प्रजातन्त्रसम्म कृषिको जिम्मेवारी

पञ्चायतदेखि जागिरे जीवनमा फड्को मार्दै गरेका राजभण्डारी २०४७ सालको जनआन्दोल सफलतापश्चात कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको सरकारको पनि सचिवको भूमिकामा रहे । 

“झलनाथ खनाल कृषि मन्त्री भएर आउनु भयो । नयाँ मन्त्री आएपछि पञ्चायतकालका कोही पनि नराख्ने भनेर निकालियो तर के भयो के भयो, खनालले मलाई नै छान्नुभयो,” उनले भने । 

निर्वाचित नयाँ सरकार आयो, कृषि मन्त्री शैलजा आचार्य भइन् । त्यसपछि उनी आपूर्ति मन्त्रालयमा सरुवा भए र २०५१ सालसम्म सोही मन्त्रालयमा काम गरे । ३३ वर्षको सेवाअवधि वा ५५ वर्षको उमेरमा पेन्सन पाक्ने सरकारको नीति अनुसार सेवा निवृत्त भएका उनी डीडीसीमा रहँदै सुरु गरेको आफ्नो दुग्ध उद्यमशीलताको सपना पूरा गर्न पूर्णकालका लागि सक्रिय रहन थाले । 

एनडीजको स्थापना र निजी क्षेत्रको संघर्ष 

डीडीसीमा प्रमुख हुँदा जहिले पनि मिडियाले सरकारी कर्मचारीको तारिफ नगर्ने खोट मात्र देखाउने प्रवृत्तिबाट आजित थिए । संस्थानमा दिनरात नभनेर काम गरेको पनि कसैले नदेख्दा चित्त नबुझाएका उनी डेरी क्षेत्रमा निजी क्षेत्रको संलग्नताको वकालतमा लागे । निजी क्षेत्रलाई समेटेर जानुपर्छ, सरकारले वातावरण बनाउनुर्छ भन्ने लबिङ गरिरहँदा सन् १९९० तिर निजीकरणको कुराको उठ्यो र नेपाल डेरीलाई औपचारिक रूपमा सुरु गर्ने बाटो खुल्यो । काठमाडौँको महाबौद्धबाट सुरु गरेको एनडीज ब्राण्ड नेपाल डेरीको चर्चित ब्राण्ड बन्यो । 

“महाबौद्धमा सानो भाँडोमा दही बनाउने काम सुरु गर्यौं । त्यतिबेला हामीसँग उद्योग चलाउन पैसा थिएन । तलब पनि सकिइहाल्ने, बचत नहुने,” उनले भने, “मैले एक दिन रिटार्यटमेन्ट हुनु अगाडि कर्मचारी साथीहरूसँग प्रस्ताव राखेँ, सानो डेरी खोलौं भनेर । सात जनाले १०/१० हजार उठाउने भयौं ।” 

संस्थानमा बसेर संस्थानको प्रतिस्पर्धी हुन खोज्यो भन्ने आरोप पनि लाग्यो । प्राइभेटमा डेरी खोल्नु भनेको सरकारको कामलाई चुनौती दियो भन्ने आरोप खेप्नु पर्यो । उनी “मैले जानेको विद्या डेरी हो, मैले अभ्यास गर्दा म जहाँ जान पनि तयार छुु ,म छाड्दिन अभ्यास गरेरै छाड्छुु” भनेर लागिरहेँ। 

सानो डेक्चीमा दुध लिएर दही बनाउन थालिएको उनको भनाइ छ । साना माटोको भाँडामा दही जमाइयो । कप घोप्टो पार्दा पनि दही नखस्ने भयो, स्थानीयवासीहरू तमासा हेर्नेदेखि किन्नसमेत आउन थाले । “सुरुमै महाबौद्ध दही भन्ने वित्तिकै सबै हुरुरु लिन आउन थाले । दही किन्ने लस्कर लगाएर आउँथे । नेपाल डेरीले निजी क्षेत्रको पहिलो डेरीको रूपमा सफल हुन थाल्यो,” राजभण्डारीले सुनाए ।

राजा वीरेन्द्रको कृषि चासो 

राजा वीरेन्द्रले मुलुकको विकासको लागि विविध क्षेत्रको अध्ययन गर्ने, चासो लिने, निर्देशन दिने गर्थे । राजभण्डारीले सात दिनसम्म कृषिका विषयमा ब्रिफिङ गरेका थिए । “वीरेन्द्र सरकारको समयमा कृषि विकास कति गर्ने, कसरी गर्ने भन्ने विषयमा प्रस्तुति गर्ने मौका पाएँ,” राजभण्डारी सम्झन्छन्, “दिनको दुई बजेदेखि साढेचार बजेसम्म एक एक वटा विषयलाई एक दिनको समय तोकेर ब्रिफिङ गर्ने व्यवस्था गरिएको थियो ।” 

हरेक दिन पशुपालन, डेरी, कृषि, हर्टिकल्चर जस्ता फरक फरक विषयमा राजदरबारमा ब्रिफिङ गर्दा सात दिन लागेको थियो । ब्रिफिङको बेला राजाने सुन्ने भएकाले नेपाली सेनाको लाइन र अर्कोतिर कर्मचारीतन्त्रका अधिकारीहरूको लाइन बसेर राजालाई गरेको ब्रिफिङ सुनेको राजभण्डारीको मानसपटलमा ताजा छ । अरू साथीहरू उनको प्रगति देखेर जल्ने गरेको उनले बिर्सेका छैनन् । 

निजी क्षेत्रलाई पनि विकासको लागि आगाडि बढाएर मात्र देश विकास हुन्छ भनेर उनले इतिवृत्तान्त सुनाएका थिए । “नियमविपरीत रहेछ भने भोलि नै बन्द गरिदिन्छु, नियम अनुसार भएको भए निरन्तरता दिन्छु भनेँ,” उनले सम्झे, “राजाले मुसुमुसु हाँसेर टाउको हल्लाएपछि सबैले राजा पोजिटिभ भएको भन्ने बुझे । मेरो पनि कुरा काट्न छाडियो ।” 

त्यसपछि निजी क्षेत्रलाई खुला गरियो । त्यो बेला निजी क्षेत्रलाई घुसखोरी, विचौलिया भनेर नराम्रो प्रचार गरिएको थियो । अहिले पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण केही परिवर्तन भए पनि कतिपय प्रसंगमा कायम रहेकोमा उनको दुःखेसो छ । 

“फल फल्नासाथ टिपिन्छ, टिपेर राख्नासाथ विचौलिया हुन्छ त ? ग्रेडिङ र प्याकेजिङ गरेर बजारमा पठाइन्छ, बजारमा पु¥याउन सकेमा मात्र उसले मूल्य पाउँछ,” उनले भने, “यस्तो कार्य मान्छे संलग्न भएन भने विकास हुँदैन । स्टेप स्टेपमा सघाउनेलाई विचौलिया भनेर गलत व्याख्या गर्नु हुँदैन ।” 

कृषिमा औद्योगिकीकरणका लागि किसानको उपज उद्योगसम्म पुर्‍याउन विचौलिया बिना सम्भव नहुने उनको तर्क छ । बरु बिचौलियाको तह घटाउने र इमानदारी भने आवश्यक रहेको उनी बताउँछन् ।

उद्यमका लागि लगानी 

उद्योग विस्तार गर्न बैंकको सहायता आवश्यक पर्छ तर जतिबेला राजभण्डारीले कृषि उद्यममा भविष्य देखिरहेका थिए नेपाल बैंक बाहेकको विकल्प थिएन । नेपाल बैंकबाट सहज ऋण नपाएका उनले सन् १९९४ मा स्थापना भएको निजी क्षेत्रको बैंक एभरेष्ट बैंकले तीन करोड रुपैयाँ ऋण दियो । 

“निजी क्षेत्रबाट उद्यम गर्ने काम सफल हुन्छ कि हुँदैन भन्ने परीक्षण पनि थियो । हामीले सुरु गरेको डेरी सफल भए अरूलाई पनि हुन्छ नभए यसमा सोच्नु पर्ने रहेछ भन्ने निष्कर्ष निकालेर अगाडि बढ्ने योजना थियो,” राजभण्डारीले भने । 

उतिबेला कतिपयले घर धितो राखेर, कसैले जागिरबाट जोगाएर, कसैले नेपाल बैंकमा श्रीमतीको गहना राखेर सात जनाले १०/१० हजार रुपैयाँ जम्मा गरेर सुरु गरेको डेक्ची डेरीले विस्तारै उद्यमको रूप लिन थाल्यो । अझै पनि नेपाल डेरीमा सातजनाको साथ छ । 

“साथीहरूले गरेको विश्वास र बैंकले ऋण दिने कुरा आफैमा ठुलो विषय थियो, बैंकले के धितो राख्छौ भन्दा मेरै महाबौद्धको घर धितो राखेर ऋण लिएका थियौं, उद्योगका लागि,” उद्यमशीलताका सुरुका दिन सम्झँदै उनी भन्छन्, “ऋण त तिरिसकियो तर धितो अझैसम्म पनि फुकाएको छैन, व्यापारिक केन्द्रको घर भएकाले बैंकले पनि धितो राखिरहन मन गरेर राखेको छ ।” उनले पनि धितो झिक्दा पुनः अर्को ठाउँबाट पैसा निकाल्न झन्झट हुने ठानेर धितो कायम नै राखेका छन् । 

नेपाल डेरीबाट उत्पादन उत्पादनको माग अनुसार पुर्‍याउन नसकेको राजभण्डारी बताउँछन् । साठी हजारबाट सुरु गरेको नेपाल डेरी हाल दिनको २० देखि ३० लाखको व्यापार गर्ने अवस्थामा छ । कोभिडले केही समस्या पारेपछि हाल व्यापार पुरानै लयमै फर्किएको छ । “२०४० साललाई आधार मान्ने हो भने त्यतिबेला दिनको दुई हजार बिक्री गर्दा ओहो दिनको दुई हजार भनेर हामी मख्ख पथ्र्यौं, औसतमा १२–१५ सयको बिक्री हुने समय थियो त्यो,” उनी थप्छन्, “अहिले दिनको २० लाख हुँदा पनि कम जस्तो लाग्छ ।” 

पाका उद्यमीहरूको समूहले नेपाल डेरीलाई डेरी उद्योग मात्रमा सीमित गरेको छैन । अहिले नेपाल डेरीले पनिर, मोजोरला चिज, घ्यूमा मेकनाइजेसन गरिरहेको छ भने चिज, खुवा, पाउरोटी, बेकरी जस्ता छुट्टै उद्योग, होटेल रेष्टुरेन्ट लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै सफलता हाँसिल गरिरहेको छ । प्याकेजिङ उद्योग, कलेज, फास्टफुड चेनमा काम गरिरहेको छ । एनडिज आइसक्रिम आजको दिनमा चर्चित आइसक्रिम ब्राण्ड बनेको छ । 

आर्थिक विकासको सूत्र

कृषि मात्र नभई समग्र देशको विकासका लागि राजभण्डारीका आफ्नै धारणा छ । एकातिर चीन र अर्को भारत ठुला मुलुकको बिचमा नेपाल भएकाले भारत र चीनमा नभएका वस्तु तथा सेवामा सरकारले प्राथमिकता दिनुपर्ने धारणा उनको छ । चारैतिर हरियाली, सन्तुलित मौसम, हिमालबाट बग्ने पानीबाट लाभ लिनुपर्ने राजभण्डारी बताउँछन् । 

१०० युनिटसम्म विद्युत फ्रिमा दिनुपर्ने धारणा राख्ने उनी विद्युत निर्यातभन्दा पनि पहिलो प्राथमिकता स्वदेशमै खपत गर्नेपर्ने, सदुपयोगमा जोड दिन्छन् । विद्युतमा सहज हुँदा प्रतिव्यक्ति आय वृद्धि हुन्छ भन्ने उनको तर्क छ । 

उनी प्राकृतिकसँगै धार्मिक पर्यटन विकास गर्नुपर्ने देख्छन् । “जनकपुर नभएर रामायण पुरा हुँदैन, जानकी मन्दिरले रामायण काल्पणिक हैन भन्ने देखाउँछ, यसका लागि हामी प्रवद्र्धन गर्न सक्छौं,” उनी थप्छन्, “त्यस्तै मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी जस्ता क्षेत्रलाई पहिचान गरेर धार्मिक पर्यटनको विकास गरिनुपर्छ ।” 

मान्छेहरू काम गरेर थकिन भएपछि आराम गरेर बस्ने साइटहरू विकास गर्ने हो भने धन हुने र आराम गर्न चाहने मानिसहरू जीवनको उत्तरार्धमा यहाँ आउन सक्छन् । नेपालमा यस्ता शान्त भूभागमा आएर जीवन व्यतित गर्न सक्ने भएकाले यो अर्को विकासको पाटो रहेको तर्क राजभण्डारीको छ । 

“ठाउँ ठाउँमा हेल्थ सेन्टरहरू विकास गरेर विदेशबाट पनि यहाँ उपचार गर्न आउने, पढ्न आउने व्यवस्था गर्नुपर्छ,” उनले भने । उनको विचारमा विश्व स्तरको कोर्स काठमाडौँमा, नेपालमै उपलब्ध भएकाले सस्तोमा राम्रो शिक्षा लिन सकिने भएकाले यहाँ सिकेर बाहिर काम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने अर्को पाटो हो ।

(टक्सार म्यागजिन, २०७९ चैत अंकबाट)

भिडियाे सामाग्रीः