पूर्व ब्रिटिस सैनिक बुढामगरले गरे सगरमाथाको सफल आरोहण, विश्व रेकर्ड कायम


काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरो पाइला टेकेका हुन् । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । 

(प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए । 

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने हरिको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, “हामी सफल भयौँ” ।  हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रुपमा छन् । थापाले ब्रिटिसको स्पेशल यअर सर्भिस(एसएएस)को माउन्टेन ट्रुप लिडरका रुपमा २४ वर्ष सेवा गरेका थिए । 

सफल आरोहणपछि  एनएसएसएल ग्लोबल कम्पनीले उपलब्ध गराएको स्याटलाइट फोन मार्फत हरिले भने, “वास्तवमा मैले सोँचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नै पर्ने थियो  । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि, गाह्रो भए पनि  हामीलाई केही फरक परेन र अन्तत हामी सफल भयौँ ।” 

बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले खुशी हुँदै थप भने, “यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।”

हरिको थप भनाई थियो “मेरो परिवार, मेरा सहयोगि साथीहरू र धेरै जनताको साथबिना सगरमाथा आरोहण गर्न सम्भव थिएन ।” 

सगरमाथाको सफल आरोहण गर्नुपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) लगायतका आरोहण गरिसकेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ (घोडा माथिबाट दुवै अंगविच्छेदन) को रेकर्डलगायत रेकर्ड बुढामगरको नाममा छ ।

एडमन्ड हिलारी र शेर्पा तेन्जिङ नोर्गेले सन् १९५३ मे १९५३ मा विश्वको अग्लो चुचुरोमा उभिने पहिलो व्यक्ति बनेको ७० वर्षपछि बुढामगर र उनको आरोही टोलीले सगरमाथा आरोहण गरेको हो । हिलारी र  तेन्जिङले सगरमाथा आरोहण गर्दा तत्कालीन बेलायती महारानी एलिजावेथ द्वितीयको राज्यरोहण चलिरहेको थियो भने यस पटक राजा चाल्र्स तृतीयको राज्यरोहणकै महिनामा समगरमाथाको हरिले सफल आरोहण गरेका छन् । हरिले भने, “मैले पहिलो पटक २०१८ मा यो आरोहणको योजना बनाएको थिएँ, तर सगरमाथाको पहिलो आरोहणको ७०औँ वार्षिकोत्सव मनाउन पाउँदा अलिक बढी विशेष लाग्छ ।”

बुढामगर रोल्पाको मिरूल गाउँमा सन् १९७९ मा जन्मिएका हुन् । सगरमाथा आरोहणमा जानुपूर्व बुढामगरले भनेका थिए, “लडाइमा दुबै खु्ट्टा गुमाएपछि दुइ वर्ष त मानसिक तनावमै बिताएँ । परिवार र साथीहरूको प्रेरणाले कमजोर भएर बस्नु हुन्न भन्ने मनोबल बढ्यो र विस्तारै तंङ्ग्रीदै गएँ र खेल र साहसिक खेलमा हात हालें, त्यसले आत्मबल दियो । धेरै समय खेल र साहसिक खेलमा बिताएपछि, यदि समय र परिस्थितिसँग अंकमाल÷परिवर्तन गर्न सकियो भने असम्भव केही रहेनछ भन्ने थाहा पाएँ ।” 

पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजनामा रहेका बुढामगरलाई कानुन बाधक बनेको      थियो । पर्वतारोहण सम्बन्धी नियमावली,२०५९ को ३ को उपनियम २ (ग) मा उल्लेखित ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ ले सगरमाथा आरोहण गर्न नपाउने व्यवस्थाले सगरमाथा आरोहण गर्न रोकेको थियो । 

नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्था अनुरूप अदालतले मार्गप्रशस्त गरेपछि बुढामगरका लागि सगरमाथा आरोहणका लागि लागेका थिए ।उनी गोर्खा वेलफेयर ट्रस्टको सद्भावना राजदूतसमेत हुन् । सन १९६९ मा स्थापित ट्रस्टले गोर्खा भेट्रान,उनीहरूका परिवार र नेपालमा रहेका समुदायलाई शिक्षा,स्वास्थ्य, खानेपानीलगायत महत्वपूर्ण क्षेत्रहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ । जन्मथलो मिरुल, रोल्पा जिल्ला र साविक राप्ती अञ्चल केन्द्रित कार्यक्रममा व्यक्तिगत रूपमै सञ्चालन गर्दै आएका उनी नेपालको ठुलो व्यावसायिक समूहमा पर्ने गोरखा ग्रुपसँग पनि आबद्ध छन् । 

आरोहणपछि अबको जीवनको अधिकांश समय नेपालमा विताउने बुढामगरको योजना छ । नेपालमा अपाङ्ग सचेतना र आर्थिक विकासको क्षेत्रमा योगदान गर्ने उनले सुनाए । “यो मेरो सफलता विश्वभरका अपाङ्ग व्यक्तिको सफलता हो, नेपालको सपना हो । नेपाल आमाको काखमा हुर्केको मैले जवानी वेलायतको लागि व्यतित गरें, अब अलिक धेरै नेपाल आमाको सेवामा लाग्ने योजना छ।” उनले आरोहणमा सहयोग गर्ने बेलायत सरकार, नेपाल सरकार, विश्वभरका दाता, आफन्त शुभचिन्तक सबैलाई धन्यवाद दिए ।