काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकबाट अवैध रूपमा रकम असुल गरी मलेसिया पठाएको आरोपमा आइएमइ लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालकसमेत रहेका तत्कालीन श्रम सचिव विनोद केसीसमेत पक्राउ परेका छन् । उनी पूर्वदुईमन्त्रीसहित बुधबार पक्राउ परेका हुन् ।
के.सी. हाल आइएमई लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक रहेका छन् । कम्पनीको बेवसाइटमा रहेको विवरणअनुसार पूर्वसचिव के.सी. २०७९ फाग्ुन १० गते स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजिव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुलाई पक्राउ गरेको थियो ।
सिआइबीका अनुसार नेपाल र मलेसिया सरकारबिच भएको श्रम समझदारी विपरीत श्रमिकबाट सङ्कलन गरिएको ठुलो परिमाणको रकम गैरकानुनी रूपमा विदेश पठाइएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० बेलायती पाउण्ड गरी नेपाली रुपैयाँमा करिब १ अर्ब ६६ करोड २ लाख रुपैयाँभन्दा बढी रकम अवैध रूपमा मलेसिया पठाइएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीका नाममा श्रमिकलाई सङ्गठित रूपमा ठगी गरी उठाइएको उक्त रकम विदेश पठाउँदा विदेशी मुद्रा अपचलन भएको र देशको अर्थतन्त्रमा समेत गम्भीर नकारात्मक असर परेको आशङ्का गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्